पर्यटन/संस्कृति

उत्खननको पर्खाइमा चन्द्रगढ

बनियानी, झापा । ऐतिहासिक एवं पुरातात्विक महत्वको स्थल चन्द्रगढ क्षेत्र पुरातत्व विभागको उत्खननको पर्खाइमा छ ।

सोह्र थुम, दुई पोखरी र बीचबीचमा अग्लो बाटो रहेको सो स्थानको प्रारम्भिक अध्ययनबाट किच्चकबधभन्दा पुरानो रहेको विज्ञले बताएका छन् । भद्रपुर–९, देवनियाँ किनारअवस्थित चन्द्रगढ मौर्यकालीन इतिहाससँग जोडिएको मेची बहुमुखी क्याम्पसका पूर्वसहप्राध्यापक चिन्तामणि दाहालले बताए । “पुरानो इतिहास भए पनि संरक्षण र महत्वका बारेमा जानकारी नहुँदा चौर र जंगलका रूपमा रहेको सो स्थलका बारेमा अध्ययन अनुसन्धान जरुरी छ”, उनले भने ।

केही वर्षदेखि चन्द्रगढी सामुदायिक वन समितिले सो क्षेत्रलाई संरक्षण गर्ने काम गर्दै आएको छ । चन्द्रगढी सामुदायिक वन क्षेत्रमा रहेको सो स्थलको संरक्षण संवद्र्धनमा वन उपभोक्ता समिति क्रियाशील छ । सो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हीरा पोखरेल भन्छन्, “सरसफाइ गर्दै यसको ऐतिहासिकता जोगाउने काम गरिरहेका छौँ ।” गुरुयोजना बनाएर यसको खोजी र अध्ययन गर्दै पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य लिइएको पोखरेल सुनाए ।

“अहिले पिकनिक स्पटमात्रै छ”, उनले भने, “भविष्यमा पर्यटकीयस्थलका रूपमा विकास गर्ने सम्भावना प्रचूर छ, यस विषयमा सबैले चासो देखाउन आवश्यक छ ।” करीब १० बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा स्थानीय जनसमुदायले हरियालीका लागि वृक्षरोपण गर्ने र सरसफाइ गर्ने काम जारी राखेका छन् ।