पु.समाचार

राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँच पक्राउ

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन् ।

सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरको एक होटलबाट आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र एक व्यवसायीसहित पाँचजनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

पक्राउ परेका पाँचैजनालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सिन्डिकेट खारेज गर्ने सरकारको नीतिविरुद्ध लागेकाले उनीहरुलाई पक्राउ गरिएको पोखरेलले बताए।

सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रामबहादुर थापाले यातायात संघ र समितिका पदाधिकारीसहित सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।