देश

अस्ट्रेलिया जान यस्तो हर्कत !

अष्ट्रेलिया । झापाका रमेश (नाम परिवर्तन) ले सन् २०१४ मा काठमाडौंकी एक युवतीसँग नक्कली विवाह गरी सिड्नी आए ।

आएदेखि नै अलग बसेका उनीहरूबीच पैसाको लेनदेन विषयमा विवाद भएपछि युवतीले सम्बन्धविच्छेद (डिभोर्स) का लागि आवेदन दिइन् ।

युवतीले आफूलाई छाड्न लागेको थाहा पाएका उनले आफूले काम गर्ने स्थानमा अनुरोध गरी स्पोन्सरसिप लिए र नेपाल फर्किनबाट बचे ।

वर्ष दिनअघि मात्र नक्कली विवाह गरी सिड्नीको एक युनिभर्सिटीमा अध्ययन गर्न आएका ललितपुर र चितवनका एक जोडीबीच पैसाकै मामिलामा खटपट पर्‍यो ।

पैसाको छलफलबाहेक अन्य कुनै पनि विषयमा कुराकानी नहुने उनीहरूबीच कुरा नमिलेपछि युवती डिभोर्सका लागि सहयोग खोज्दै वकिलकोमा पुगिन् ।

युवा भने विद्यार्थी भिसाको आवेदन दिने तयारी गरिरहेका छन् । माथि उल्लिखित दुई प्रतिनिधि घटना नक्कली विवाह गरी अस्ट्रेलिया आउने र यहाँ आएपछि समस्यामा पर्ने यी नेपाली जोडीहरूको हो ।

नेपालबाट विद्यार्थी भिसामा आउने मुख्य आवेदक ९विद्यार्थी० लाई निश्चित रकम तिर्ने सर्तमा विवाह गरी आउने र सम्झौतामा समस्या आएपछि उपाय खोज्न माइग्रेसन एजेन्ट वा वकिलकोमा जाने चलन बढदै गएको छ ।

कागजी रूपमा विवाह सक्कली देखिए पनि उनीहरूले नक्कली नियतका साथ अस्ट्रेलिया भित्रिने गरेका हुन्। यहाँ आएर उनीहरू समस्यामा पर्ने गरेका छन् ।

अस्ट्रेलिया अध्यागमनलाई सक्कली कागजपत्र देखाएर आउने गरे पनि आपसी मनमुटावपछि उनीहरूको नक्कली सम्बन्ध डिभोर्समा पुगेर टुंगिने गरेको छ ।

करिब ३ वर्षदेखि अस्ट्रेलियामा ‘फ्यामिली ल’ सम्बन्धी वकालत गर्दै आएका सुमन भेटवालले अहिलेसम्म १ सय ६ नेपाली जोडीको डिभोर्सको मुद्दा हेरेका छन् । जसमध्ये ७० प्रतिशत बढी यस्तै प्रकृतिका रहेको उनले सुनाए ।

‘यो वास्तवमा समस्याका रूपमा बढिरहेको छ,’ उनले भने, ‘कानुनी रूपमा सक्कली विवाह भए पनि यी विवाहको नियत नक्कली हुने र यसैले समस्या सिर्जना गरिरहेको मेरो ठम्याइ छ।’ -कान्तिपुर दैनिकबाट