राजनीति

साझा समस्याको समाधान एकीकृत प्रयासबाट सम्भवः मुख्यमन्त्री गुरुङ

पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिका कारण आउने समस्याको समाधान एकीकृत प्रयासबाट मात्र सम्भव हुने बताएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा आज यहाँ आयोजित प्रदेश स्तरीय पुनःनिर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले विपद्लाई सामना गर्न साझा संकल्प आवश्यक हुने बताए ।

भूकम्प गएको तीन वर्ष पुगिसग्दा पनि पीडितले उचित राहत पाउन नसकेको, आकाशलाई छानो बनाउन बाध्य भएको भन्दै उनले प्राधिकरणले स्थानीय सरकारसँग समन्वय गरेर पुनःनिर्माणमा जुट्नुपर्ने धारणा राखे ।

कानूनी जटिलताका नाममा पुनःनिर्माणका काम रोकिन नहुनेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले सेवा लिने प्रक्रिया झन्झटिलो हुने गरेका गुनासा हट्ने गरी अघि बढ्नुको विकल्प नभएको बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव यमलाल भुसालले यस प्रदेशका भूकम्प अति प्रभावित १४ जिल्लामध्ये गोरखा परेको बताउँदै कम प्रभावित १८ जिल्लामध्ये आठ जिल्ला यस प्रदेशमा पर्ने जानकारी दिए । उनका अनुसार यस प्रदेशमा भूकम्प पीडित भूमिहीन लाभग्राहीको संख्या संस्थागत एवम् गुठी ९३२ छन् भने सरकारी एवम् सार्वजनिक एक हजार १६८ रहेका छन् । जोखिममा रहेका लाभग्राहीको संख्या तीन हजार ४९७ रहेको उनले जानकारी दिए ।

त्यस्तै भूकम्पबाट एक हजार ८११ विद्यालय प्रभावित भएको जानकारी दिँदै उनले एक हजार ३१० विद्यालयको भौतिक संरचना तयार भई सञ्चालनमा आएको बताए । तथ्याङ्कअनुसार यस प्रदेशमा प्राविधिक जनशक्ति उत्पादनका लागि हालसम्म ५१ हजारले तालीम प्राप्त गरिसकेका छन् ।

कार्यक्रममा आर्थिक महिला तथा योजनामन्त्री किरण गुरुङले प्राधिकरणका कामलाई प्रभावकारी बनाएर एक वर्ष भित्रमा प्रदेश नं ४ को पुनःनिर्माणका काम सम्पन्न गरेर पीडितलाई राहत दिन सरकार रहेको अनुभूति दिलाउनुपर्ने बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले भूकम्पबाट पीडित भूमिहीनलाई प्रत्येक पालिकामा भित्र बसोबासको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसका लागि प्रादेशिक सरकारका तर्पmबाट सक्दो सहयोग रहने बताए।

कार्यक्रममा भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले विकट बस्तीमा ढुंगा र माटोले बनेका सम्पूर्ण घरलाई पुनःनिर्माण लाभग्राहीमा राखेर राहत प्रदान गरिनुपर्ने बताए ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पबाट निजी आवासतर्पm कूल सात लाख ६७ हजार ७०५ मध्ये एक लाख ४३ हजार ८४९ घर निर्माण भइसकेको जानकारी दिए ।

कार्यक्रमका सभापति एवम् प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीले दुई वर्षभित्र सम्पूर्ण पीडितलाई राहत प्रदान गर्ने गरी काम गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसहित तीन वटै सरकार जुट्नुपर्ने बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट भूकम्प पछिको पुनःनिर्माणमा हालसम्म भए÷गरेका कार्य र आगामी दिनमा पुनर्निर्माणलाई थप तीव्रता दिनका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा सुझाव संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रदेश सभा सदस्यहरु, सञ्चारकर्मी, प्राधिकरणका प्राविधिकलगायत करीब ९० जनाको सहभागिता रहेको थियो ।