समाचार

यातायात व्यवसायीलाई ब्याक टु ब्याक झट्का, सरकारले गर्यो अर्को यस्तो निर्णय

काठमाडौं । सरकारले यातायात व्यवसायीको बैंक खाता रोक्का गरी सम्पत्ति छानबिन गरेर बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सरोकारवाला मन्त्रि र निकायको बैठकले यस्तो निर्णय गरेको हो ।

शुक्रबार दिउँसो सिंहदरबारमा बसेको गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाललगायतले यातायात व्यउावसायीले आज सार्वजनिक यातायात ठप्प पारेपछि बैठक बसेको छ ।

बैठकले साविकका यातायात व्यवसायी महासंघ र पदाधिकारीको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट यातायात व्यवस्था विभागले लिई सोको विवरण सम्पत्ति शुद्धिकरण विभागमा उपलब्धले गराउने र विभागले सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको हो ।

त्यस्तै सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात व्यवसायी महासंघ र समितिको विवरण तयार पारी विभागले बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत् राष्ट्र बैंकमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा यातायात मन्त्री रघुवीर महासेठले कम्पनीको रूपमा व्यवसाय दर्ता गर्न कम्तिमा पाँच सवारी साधन हुनु पर्ने प्रावधान हटाइ एउटा सवारी पनि कम्पनीको रूपमा दर्ता हुने जानकारी गराएका थिए ।

बैठकले बीमालगायत व्यवसायीका केही माग सम्बोधन गर्न सरकार तयार रहेको भए पनि सिन्डिकेट अन्त्य गर्नबाट भने पछि नहट्ने प्रतिवद्धता दोहोर्‍याएको छ ।

यसअघि यातायात व्यवस्था विभागले यातायात क्षेत्रमाथि लाग्दै आएको सिण्डिटकेट तोड्ने निर्णय गरेको थियो ।