देश

यातायात व्यावसायीको दादागिरीको कारण सवारी साधन चलेनन्

हेटौँडा । निजी क्षेत्रबाट सञ्चालित भाडाका सवारी साधनको एकाधिकार खारेज गर्ने सरकारी निर्णयका विरुद्ध आज बिहानैदेखि हेटौँडा–काठमाडौँ, हेटौँडा–वीरगञ्ज, हेटौँडा–चितवनतर्फ जाने भाडाका सवारी साधन सञ्चालन हुन सकेनन् ।

निजी यातायात व्यवसायीको विरोधका कारण स्थानीय यातायात सेवा पनि प्रभावित भयो ।पालुङ, भीमफेदी, कुलेखानी, फापरबारी र लोथरबाट हेटौँडा आउने जाने सवारी साधन पनि सञ्चालन हुन नसकेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पूर्व र पश्चिमबाट आएका रात्रि सेवाका सवारी साधनलाई बाराको पथलैया चितवनको लोथरसम्म प्रहरीको स्कटिङबाट पु¥याइएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिनुए ।

अहिले हेटौँडा बजारमा अटो रिक्सा, टिपर औद्योगिक क्षेत्रका बस, ट्रकमा सरकारी कार्यालयका जिप भने सञ्चालनमा रहेको जनाइएको छ ।

यातायात सञ्चालन गर्न चाहने व्यवसायीलाई कडा सुरक्षाका साथ गन्तव्य स्थानमा पठाउन तयारी भइरहेको र यी सवारीमा अवरोध पु¥याउनेलाई कडा कारबाही गर्न प्रहरी टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए ।

एकाधिकार खारेज गरेर सरकारले विकल्प नदिँदासम्म निजी क्षेत्रका भाडाका व्यवसायीले दैनिक यातायात सञ्चालन नगर्ने निर्णय गरेको नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनालले जानकारी दिए ।