देश

समाजिक विकासमन्त्री भन्छिन्ः सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व

पोखरा । प्रदेश नं ४ का समाजिक विकासमन्त्री नरदेवी पुनले सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताएकी छन् ।

भाषा आयोग र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘भाषा आयोगको संवैधानिक दायित्व’ विषयको संगोष्ठीको उद्घाटन समारोहमा उनले भाषाको संरक्षण र विकासका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताईन् ।

लोपोन्मुख भाषालाई जीवन्त बनाउन अपरिहार्य भएको बताउँदै उनले समाजमा प्रत्येक जातजाति र भाषाभाषीबीचको एकता कायम हुनुपर्नेमा जोड दिईन् ।

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले संरक्षणको अभावमा भाषा लोप हुँदै जानु चिन्ताको विषय भएको बताउँदै प्रत्येक भाषाको पुस्तान्तरण कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको धारणा व्यक्त गरे ।

भाषा आयोगका सहसचिव रामशरण सापकोटाले आयोगले विभिन्न २९ वटा भाषामा वर्ण निर्धारण, शब्द संकलन, शब्दकोष निर्माण जस्ता कामलाई अघि बढाइएको जानकारी दिए ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, भाषा आयोगका उपसचिव गणेशप्रसाद भट्टराईलगायतले सबै मिलेर हातेमालो गरेमा भाषालाई जीवन्त राख्न सकिनेमा जोड दिए ।