शिक्षा

निजी छोडेर सरकारीमा आउनेको ओईरो

रोल्पा । निजी छाडेर सरकारी विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेपछि रोल्पाको एक विद्यालयलाई विद्यार्थी व्यवस्थापनमा चुनौती थपिएको छ । सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले बितेको एक दशकयता गरेको शैक्षिक सुधारका कारण विद्यार्थीको आकर्षण बढेसँगै व्यवस्थापनमा चुनौती थपिएको हो ।

चालु शैक्षिक सत्रमा सो विद्यालयमा शिशु कक्षा देखि कक्षा १२ सम्म दुई हजार ३५० विद्यार्थी रहेको विद्यालयले जानाएको छ । विद्यालयले हाल शिशु कक्षा देखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाउँदै आएको छ । आगामी दुई वर्षभित्र कक्षा १० सम्म नै अंग्रेजी माध्यमबाट पठनपाठन गराउने विद्यालयले जनाएको छ । शिशु कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यम अनिवार्य बनाइएको छ, भने कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यमका दुई वटा धारमा पढाइ हँुदै आएको छ ।

सोही विद्यालयमा अध्ययन गरेका तथा निजी विद्यालयबाट आएकाका लागि अंग्रेजी माध्यम र अन्य विद्यालयबाट आएका विद्यार्थीका लागि नेपाली माध्यमको व्यवस्था गरेका छौ विद्यालयका प्राचार्य मधुसुदन पोख्रेल भन्छन् ।

विद्यालयमा बढ्दै गएको विद्यार्थी संख्याको तुलनामा जनशक्ति र भौतिक संरचनाको व्यवस्थापनमा चूनौती थपिएको विद्यालय व्यवस्थापन समितिका सदस्य जीतबहादुर डाँगी बताउनुहुन्छ । हरेक वर्ष ठूलो संख्यामा नयाँ विद्यार्थी थप हँुदै जाँदा शिक्षकको संख्या पनि थप्नुपर्ने र कक्षा कोठा समेत थप गर्नुपर्ने भएकाले विद्यालयलाई ठूलो व्ययभार हुँदै आएको चर्चा गर्दै कक्षा ६ देखि १० सम्म दुई वटा भाषामा पठनपाठन गर्नु पर्दा दोब्बर जनशक्तिको पनि व्यवस्थापन गर्नु परेकाले थप व्ययभार हँुदै आएको उहाँको भनाइ छ ।

व्यवस्थापकीय परिवर्तन र प्रशासनिक सुधारपछि सो विद्यालय जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित भएको छ । शिक्षा विभागको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयको अवधारणा अनुसार रोल्पामा नमूना विद्यालयको रुपमा छनौंट भएका दुई विद्यालयमध्ये सो विद्यालय एक हो । अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकको लगातारको लगावका कारण विद्यालयको सुधार सम्भव रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य डाँगी उल्लेख गर्छन् ।

अभिभावकको निरन्तर निगरानी, विद्यालय व्यवस्थापन समितिको खटनपटन एवं जिम्मेवारी बोध तथा शिक्षकमा आएको सेवा भावकै कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको हो ।

दश जोड दुईमा विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा र कम्युटर विज्ञानको पढाइ भइरहेको विद्यालयले जनाएको छ । केही वर्षयता सो विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सम्बन्धन प्राप्त गरी सवइञ्जिनियर र सवओभरसियर विषयमा समेत पठनपाठन गर्दै आएको छ । जिल्लामा एसएलसीको नतिजा १५ प्रतिशत हुँदा सो विद्यालयले भने हरेक वर्ष ७५ प्रतिशत भन्दा नतिजा प्राप्त गर्दै आएको छ ।

जिल्लास्तरमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले राम्रो नतिजा लिँदै आएको बताइएको छ । हरेक वर्ष सञ्चालन गरिने माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा समेत विगत ६ वर्ष यताका सबै सिल्ड सो विद्यालयले कब्जा गर्दै आएको बताइएको छ । कक्षा अनुगमनका लागि हरेक कोठामा सिसी क्यामेरा जडान गरिएको छ । विद्यालयका प्राचार्यले सिसी क्यामेरामार्फत हरेक कक्षा कोठाको निगरानी गर्ने गरिएको छ ।

विद्यालयले आफूहरुको लागि गरेको लगानीले विद्यार्थी सन्तुष्ट रहेको कक्षा १० का छात्र दीपक परियार बताउनुहुन्छ । कतिपय कक्षामा विद्यार्थीको चाप अधिक रहेकाले पठनपाठनमा समस्या देखिन्छ परियार भन्छन्, “बन्द हडतालको पहिलो निसाना विद्यालय हुने र विभिन्न राजनीतिक दल संवद्ध विद्यार्थी संगठनले समेत राजनीतिक कार्यक्रममा विद्यार्थीलाई प्रयोग गर्दै आएकामा हमीहरू सन्तुष्ट छैनौ । ।”