समाचार

जनतालाई सास्ती दिने यातायात व्यावसायी धमाधम प्रहरी फन्दामा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायात बन्द गरेका यातायात व्यावसायीलाई पक्रन भने लगत्तै उनीहरु पक्राउ पर्न थालेका छन् । सिण्डिीकेट यथावत रहन दिन यातायात बन्द गरेका व्यावसायीलाई सरकारले धमाधम पक्राउ गर्न थालेको हो ।

गृहमन्त्री थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगर, बुटवल यातायात व्यावसायी संघका उपाध्यक्ष अशोककुमार श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले संघका अन्य पदाधिकारीलाई पनि खोजी गरिरहेको छ ।

त्यस्तै काभ्रेमा मिनीबस सेवा समितिका उपाध्यक्ष शान्तराम ताम्राकार, हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् भने नारायणी यातायातका अध्यक्षसहितको खोजी गर्न प्रहरी निरीक्षक मधुकुमार थापाको कमान्डमा प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ भने यात्रु गन्तब्यसम्म पुग्न सकेको छैनन् ।