पु.समाचार

भयरहित वातावरणमा पत्रकारिताको अभ्यास गर्न पाउनुपर्छः आयोग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले स्वतन्त्र र भयरहित वातावरणमा पत्रकारिताको अभ्यास गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै भयरहित र आम नागरिकको सुसूचीत हुन पाउने अधिकारको सम्मान गर्न सरकारसमक्ष आग्रह गरेको छ।

पत्रकारमाथि धम्की र गिरफ्तारका घटना अझै नरोकिएको भन्दै अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सम्मान र संरक्षण गर्नु हरेक लोकतान्त्रिक सरकारको दायित्व रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको अभिव्यक्ति स्वतन्त्रता र यसको पक्षमा कलम चलाउने पत्रकारले विगतदेखि हत्या, बेपत्ता, आक्रमण, धम्कीलगायतबाट पीडित हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “यस्ता घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन आयोगले नसकेको हो । ”

आयोगले सशस्त्र द्वन्द्वको समयमा पत्रकारमाथि भएका हत्या, बेपत्ता, गैरकानूनी थुनालगायतका घटना सम्बन्धमा कारबाहीका लागि सरकारलाई सिफारिश गरेको उल्लेख गर्दै प्रवक्त अन्सारीले घटना अदालती प्रक्रियामा मात्र पुगेको बताए ।

विगत दुई दशकको तथ्यांकलाई हेर्ने हो भने दुई दर्जन बढी पत्रकारको हत्या भएको आयोगले जनाएको छ ।

यसैक्रममा आयोगले ३३ किलो सुन प्रकरणमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले आरोपीको तस्वीर लिने ध्रुव भट्टराई र सुमन सुस्केरामाथि लात्ती प्रहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।