राजनीति

नयाँ जिल्लाले पायो नेविसंघको नया नेतृत्व

रुकुमकोट, रुकुम । पुर्व (पूर्व) मा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन भएकोे छ । जिल्ला टुक्रिएपछि नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन भएको हो ।

बुधबार विद्यार्थीहरुको जिल्ला भेलाले सुमन बुढाको अध्यक्षतामा ४७ सदस्यीय तदर्थ समिति गठन भएको बताएको छ । समितिको उपाध्यक्षमा धनबहादुर खड्का र बसम मल्ल, सचिव भरिलाल खड्का, सहसचिव प्रभा बस्नेत र कोषाध्यक्षमा नन्दकुमारी बुढा चयन भएका जनाइएको छ ।

समिति गठनको लागि नेविसंघ केन्द्रले केन्द्रीय सदस्य तारकप्रतिभा केसीलाई प्रतिनिधिकोरुपमा खटाएको थियो । केन्द्रले दिएको जिम्मेवारी अनुसार केसीले तदर्थ समिति गठन गरेका हुन् ।

भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केसीले जिल्लामा रहेका बिद्यालयमा आफ्नो संगठन निर्माण गर्न निर्देशन दिएका छन् । विद्यार्थी आन्दोलमा नेविसंघले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै उनले समय अनुसार चल्न विद्यार्थीहरुलाई आग्रह गरे ।

समय अनुसार आन्दोलन र त्यसका मुद्दाहरु बदलिएकाले सोही अनुरुप संगठनलाई बलियो बनाउनको लागि अघि बढाउनु पर्नेमा उनको जोड थियो । नेपाली विद्यार्थीको हक हितको रक्षाको लागि आफ्नो संगठनले स्थापनाकाल देखिनै संघर्ष गरिरहेको उनको दाबी छ ।

प्रशान्त शाहीको अध्यक्षता र बमबहादुर खड्को सञ्चालन रहेको विद्यार्थी भेला कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सचिव भिमबहादुर खड्का, महाधिवेशन प्रतिनिधि
लक्षिराम घर्ती, नेपाल महिला संघकी सभापति सरीता विसी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रमेश शर्मा लगायतको आतिथ्यता रहेको थियो ।