शिक्षा

सामुदायिक विद्यालयमा लगानी गर्नुपर्छः सांसद श्रेष्ठ

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १३ मा अवस्थित ज्ञानोदय माविको ५५औँ जन्मजयन्तीका अवसरमा वाफलचोकदेखि मकालुचोकसम्म आज सरसफाइ गरिएको छ ।

ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपालले आयोजना गरेको सरसफाइ कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएकाले सरकारले भर्ना अभियान सञ्चालन गरेको अवस्थामा पनि विद्यार्थीको ठूलो प्रतिष्पर्धाबीच उक्त विद्यालयमा भर्ना पाउने व्यवस्थाले त्यस आसपासका अन्य विद्यालयले पनि शिक्षामा सुधार गर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य राजेश शाक्यले सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाको विकासमा सरकारले लगानी बढाउनुपर्ने बताए । कामपा–१३ का वडा सदस्य रामबाबु कोइराला, पूर्व वडाध्यक्ष रामशरण डंगोललगायतले सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी भए पनि प्रतिफल प्राप्त हुन नसकेकामा चिन्ता व्यक्त गर्दै सर्वसाधारणलाई विद्यालयप्रति आकर्षित गर्न व्यावसायिक शिक्षामा जोड दिए ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष रुपचन्द्र पन्तले विगत वर्षदेखि नै समाजले सरसफाइ, निःशुल्क स्वास्थ्य जाँच, रक्तदान, छात्रवृत्ति वितरण, अन्तरविद्यालयस्तरीय कार्यक्रम तथा प्राकृतिक प्रकोप बाढी, पहिरो र भूकम्पमा प्रभावितलाई राहत सामग्री वितरण गरेको बताइएको छ ।

निजी विद्यालय जिम्मेवार बन्नुपर्नेमा जोड

निजी विद्यालयले सरकारी नियम र शिक्षासम्बन्धी सम्पूर्ण निर्देशिकाको उल्लंघन गरी एकपक्षीय रुपमा शुल्क वृद्धि गरी अराजकता मच्चाएको आरोप विभिन्न विद्यार्थी संगठनका नेता तथा अभिभावकले लगाएका छन् ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताले सरकारले निर्दिष्ट गरेको नियमभन्दा बाहिर गएर वृद्धि गरिएको शुल्क मान्य नहुनेमा जोड दिए ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले अनावश्यक बढाइएको शुल्क फिर्ता नभए तेस्रो चरणको आन्दोलन गरिने चेतावनी दिँदै सरकारी विद्यालयको स्तरोन्नति गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।

अनेरास्ववियूका कोषाध्यक्ष झपिन्द्र खत्रीले निजी विद्यालयले बढाएको शुल्क वृद्धि यथासम्भव फिर्ता लिन आग्रह गरे । अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले निजी विद्यालयले बढाएको शुल्क वृद्धि फिर्ता नलिए निर्देशिकाअनुसार सरकारले कारवाही गर्नुपर्ने माग गर्दै विद्यालय सञ्चालकबाट निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता आएमा विद्यालयमा लगाइएका ताला खोल्न निर्देशन दिइने बताए ।

अभिभावक संघका अध्यक्ष केशव पुरीले निजी विद्यालयले गर्ने निरन्तरको शुल्क वृद्धिले अभिभावक पीडामा पर्ने गरेको बताउँदै सरकारले गम्भीर कदम चाल्नुपर्नेमा जोड दिए । प्याब्सन अध्यक्ष विजय सम्बाहाम्फे, एन–प्याब्सनका महासचिव सुवास न्यौपानेलगायतले अहिले देखिएका समस्या ताला लगाएर समाधान नहुने विचार व्यक्त गर्दै समस्या समाधानका लागि वार्ता तथा छलफल गर्न आग्रह गरे ।