स्वास्थ्य

‘प्रत्येक वर्ष रेबिजबाट सय जनाको ज्यान जान्छ’

काठमाडौँ । नेपालमा प्रत्येक वर्ष रेबिजबाट सय जनाको मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मलेनमा विश्वमा प्रत्येक वर्ष रेबिजबाट ५९ हजार मानिसको मृत्यु हुने गरेकाले त्यसलाई निर्मूल पार्न दु्रतगतिमा प्रयास थालिनुपर्नेमा जोड दिइएको छ ।

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालय नयाँ दिल्लीका प्राविधिक अधिकृत डा ज्ञानेन्द्र गंगलले प्रत्येक नौ मिनेटमा एक जनाको रेबिजबाट मृत्यु हुने गरेको बताउँदै मृत्यु हुनेमा बालबालिका र गरिबको संख्या उच्च रहेको धारणा व्यक्त गरे ।

गरिबलाई कुकुरले टोकेपछि रेबिजविरुद्धको भ्याक्सिन र अन्य उपचार गर्न नसकेका कारण उनीहरुले ज्यान गुमाउनु परेको उल्लेख गर्दै उहाँले रेबिजका भाइरल भएका शंकास्पद जनावरको टोकाइबाट १५ वर्षमुनिका ४० प्रतिशत बालबालिका प्रभावित हुने गरेको बताए ।

संयुक्त राष्ट्रसंघका वरिष्ठ पशु स्वास्थ्य तथा उत्पादन अधिकृत डा. काटिन्का डे बालोगले रेबिजविरुद्धका भ्याक्सिनको माध्यमबाट यसलाई शतप्रतिशत रोक्न सकिने बताउँदै कुकुरको टोकाइपछि प्रभावकारी उपचार र कुकुरको बढ्दो संख्या रोक्नसकेमा रेबिज निर्मूल पार्न सकिने धारणा व्यक्त गर्नुभयो ।

हरेक घरपालुवा वा अन्य कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन (खोप) लगाउन अत्यावश्यक भएको चर्चा गर्दै उहाँले रेबिजबाट बचाउन विद्यालयस्तरबाटै बालबालिकालाई प्रभावकारी शिक्षा दिनुपर्ने बताए ।

तीन दिनसम्म चल्ने कार्यक्रममा रेबिज उन्मूलनका लागि हालसम्म भएका प्रयास र आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा छलफल हुनेछ ।

पशु स्वास्थ्यका लागि विश्व संगठनका प्रतिनिधि पासागं सेरिगंले रेबिज उन्मूलनका लागि यसबारे सर्वसाधारणमा व्यापक जनचेतना जगाउनुपर्ने र यो रोग नियन्त्रणका लागि पनि दायित्व बोध गराइनुपर्नेमा जोड दिए ।

इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा केदार सेन्चुरीले हरेक वर्ष नेपालमा करीब तीन लाख रेबिजविरुद्धको भ्याक्सिन खरीद गरेर उपलब्ध गराउँदै आए पनि कुकुरको संख्या बढिरहेकाले अपुग भएको बताए ।

उहाँले कुकुरको नियन्त्रण गर्ने, कुकुरलाई भ्याक्सिन दिने र कुकुरले टोकेपछि तुरुन्त भ्याक्सिन लगाउनुपर्ने बताए ।

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको भ्यासिक्न कमी भएकाले यसमा विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्न निर्देशक डा सेन्चुरीले आग्रह गरे ।