पु.समाचार

अध्यक्ष तिमिल्सिना र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसबीच शिष्टाचार भेटघाट भएको छ ।

अध्यक्षको कार्यकक्षमा आज उनीहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध र बेलायती संसदीय प्रतिनिधिमण्डलले आइतबारदेखि गर्ने नेपाल भ्रमणबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेलायतबीचको कूटनीतिक सम्बन्ध र दुई देशबीचको साझेदारीबारेमा स्मरण गर्दै दुई देशका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एकअर्काको स्वतन्त्रता, स्वाधीनता र परस्पर सहयोगमा आधारित रहँदै आएको बताए ।

बेलाबेलामा हुने उच्चस्तरीय भेटघाट नै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको उल्लेख गर्दै उनले नेपालको संसद् र बेलायतको संसद्बीच पनि सुमधुर सम्बन्ध रहेको चर्चा गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद् दुई सदनात्मक रहेको हुँदा दुबैको भूमिकाबारे जानकारी गराउँदै बेलायती प्रतिनिधिमण्डलको नेपाल भ्रमणले दुई देशका सदनबारे अनुभव आदानप्रदान हुँदा दुवै पक्ष लाभावित हुने विश्वास व्यक्त गरे ।

“दुई दिनपछि २३ वैशाखमा बेलायती संसदीय प्रतिनिधिमण्डलले नेपालको सद्भावना भ्रमण गर्दैछ भन्ने खबर प्राप्त भएको छ”, उनले भने, “यसले मलाई खुशी बनाएको छ र सोको तयारी सचिवालयले गरी रहेको छ, हामी उनीहरुलाई स्वागत गर्न तत्पर छौँ ।”

अध्यक्ष तिमिल्सिनाले नेपालको भौतिक एवं आर्थिकलगायत विकासका हरेक आयाममा बेलायतको सहयोग उल्लेखनीय रहेको र यसप्रकारको सहयोग निरन्तर रहने नेपालको अपेक्षा रहेको बताउँदै ब्रिटिस गोर्खाले बेलायतको सेनामा रहेर गरेको योगदानले दुई देशको सम्बन्धलाई थप मजबुद बनाउन सहयोग गरेकाले सबै सेनालाई समान व्यवहार हुनुपर्ने धारणा राखे ।

भेटमा बेलायती राजदूत मोरिसले दुई देशको सम्बन्ध मजबुद बनाउन बेलायत तत्पर रहेको उल्लेख गर्दै आगामी दिनमा पनि विकासमा साझेदारी गर्न बेलायत तयार रहेको छ भने ।

आइतबारदेखि हुने बेलायती प्रतिनिधिमण्डलको भ्रमणमा संसदीय अभ्यासबारेको अनुभव साटासाटले दुबै देशको सम्बन्ध थप मजबुद बनाउने बताए ।