समाचार

‘पक्षपातपूर्ण सामग्री आउनु स्वतन्त्र न्यायपालिकाको मान्यताविपरीत’- प्रधानन्यायाधीश

काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालय र सञ्चार क्षेत्रबीच अन्योन्याश्रति सम्बन्ध रहेको बताउँदै न्यायालयका समाचार सम्प्रेषणमा थप संवेदनशील हुनुपर्ने औँल्याए ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ, फ्रिडम फोरम र युनेस्को नेपालले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा उनले समाचार विश्लेषणका नाममा सञ्चारमाध्यमले अदालतमा विचाराधीन मुद्दामा पक्षपातपूर्ण धारणा दिने गरेको बताउँदै संविधान, कानून तथा पत्रकारको पेशागत आचारसंहिताअन्तर्गत रहेर हरेक पत्रकार तथा सञ्चारकर्मीले आफ्नो भूमिका र जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए ।

उनले लोकतान्त्रिक मूल्यमान्यता र संस्कारलाई आत्मसात् गर्दै अभिव्यक्तिको स्वतन्त्रताको भरपूर उपयोगमार्फत देशमा सञ्चारमाध्यमबाट सुशासन, विकास, न्याय तथा आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताउँदै सञ्चारमाध्यमले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण गर्न नसकेमा जनताको सूचनाको पाउने अधिकार र लोकतान्त्रिक पद्धतिको विकास प्रभावित हुने बताए । उनले अदालतमा विचाराधीन मुद्दाका विषयलाई लिएर सञ्चारमाध्यममा टीकाटिप्पणी हुनु वा समाचार विश्लेषणका नाममा पक्षपातपूर्ण सामग्री आउनु स्वतन्त्र न्यायपालिकाको मान्यताविपरीत हो भने ।
बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आयोगमा परेको उजूरीमाथि गम्भी छानवीन भइरहेको बताउँदै पीडितले न्याय पाउनेमा शंका नगर्न आग्रह गरे ।

प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले प्रेस स्वतन्त्रताको सन्दर्भमा पत्रकारको सुरक्षाको कुरा गरिरहँदा पत्रकारबाट पीडित भइरहेको घटनाप्रति पनि सबै सचेत हुनुपर्ने धारणा व्यक्त गरे । उनले काउन्सिलमा पत्रकारबाट पीडित हुनेहरुको उजुरी दर्ता हुनेक्रम बढिरहेकाले पत्रकारलाई पेशागत मर्यादालाई पालन गर्न आग्रह गरे ।

पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले पत्रकारमाथिको दण्डहीनताको अन्त्य हुनुपर्ने बताउँदै पत्रकारितामा स्वनियन्त्रण कायम रहेसम्म प्रेस स्वतन्त्रता हुन नसक्ने बताए । फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीले प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेर जानुले नेपालमा प्रेस स्वतन्त्रतामैत्री वातावरण निर्माण हुन नसकेको स्पष्ट भएको बताए ।

युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन म्यानहार्टले विश्वमै पत्रकारमाथि भइरहेका आक्रमण तथा दुव्र्यवहारको अन्त्य हुनुपर्ने बताए । पत्रकार महासंघका परियोजना अधिकृत हिरण्य जोशीले दक्षिण एशिया र नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाबारे तथा फ्रिडम फोरमका कार्यक्रम संयोजक सञ्जीव घिमिरेले फ्रिडम फोरमको अनुगमन डेस्कले एक वर्षभरी अभिलेखन गरेको प्रेस स्वतन्त्रता उल्लंघनका घटनाबारे प्रतिवेदन पेश गरेका थिए ।

महासंघको प्रतिवेदनअनुसार नेपालमा ४ मे २०१७ देखि ३ मे २०१८ सम्म प्रेस स्वतन्त्रता हनका ६२ घटना भएका छन् । ती घटनामा सबैभन्दा बढी पत्रकारमाथिको धम्की र दुव्र्यवहारका १९, पत्रकारमाथिको आक्रमणका १७ र पत्रकार पक्राउका १६ घटना भएका छन् । त्यसैगरी कब्जा, अपहरण र अवरोधका छ घटना भएका छन् । नीतिगत अवरोधका तीन घटना छन् भने पत्रकारलाई बेपत्ता पार्ने एउटा घटना भएको छ ।

यसैगरी फ्रिडम फोरमको प्रतिवेदनअनुसार सन् २०१४ मा ५२, २०१५ मा ४१, २०१६ मा ५९, २०१७ मा २९ र २०१८ मा ६६ घटना भएका छन् । तीनै तहको निर्वाचन यसै वर्ष सम्पन्न भएसँगै राजनीतिक गतिविधिमा तीव्रताका कारण सन् २०१६–१७ भन्दा झण्डै दोब्बर घटना २०१७–१८ को वर्षमा भएको प्रतिवेदनमा जनाइएको छ । अधिकांश प्रेस स्वतन्त्रता उल्लंघनका घटना राजनीतिक मामिलासँग जोडिएका छन् । अघिल्लो वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका २९ घटना भएका थिए ।

यस वर्ष भएका ६६ घटनामध्ये १४ आक्रमण, आठ पक्राउ, १३ हातपात, १४ ज्यान मार्ने धम्की, १६ अवरोध र एउटा तोडफोडका छन् । प्रेस स्वतन्त्रता हननका घटनामध्ये प्रदेश नं ३ मा सबैभन्दा बढी २९ घटना भए जसमध्ये काठमाडाँैंमा मात्रै २५ घटना भएका छन् । प्रदेश ४ मा ११ घटना भए भने प्रदेश २ मा आठ, प्रदेश १ मा तीन, कर्णाली प्रदेशमा तीन तथा प्रदेश ५ र ७ मा छ छ प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका छन् ।

कार्यक्रममा पत्रकार महासंघले संयुक्त राज्य अमेरिकामा क्रियाशील संस्था मदरल्याण्डसँगको सहकार्यमा प्रदान गर्दै आएको ‘‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार– २०७४’ यस वर्ष सगरमाथा आरोहण गर्ने अभियानमा निस्किएका छ महिला पत्रकारलाई प्रदान गरिएको छ ।

सगरमाथा आरोहणको अभियानमा निस्केका पत्रकार महिलामा रोशा बस्नेत, प्रियालक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता वुद्धाचार्य, डोमा शेर्पा र देउराली चाम्लिङ्गलाई संयुक्त रूपमा आज प्रदान गरिने भनिएको उक्त पुरस्कार उनीहरु सगरमाथा आरोहणमा गएकाले फर्किएपछि मात्र प्रदान गर्ने गरी मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले रु एक लाख २० हजारको चेक महासंघका अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गरेका थिए ।