खेलकुद

गुरु चेलीको जोडी च्याम्पियन

काठमाडौं । गुरु श्रीराम मगर र चेली आइरा रावतको जोडी छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको फाइनलमा श्रीराम र आइराको जोडीले प्रणव खनाल र माहिका राणाको जोडीलाई ७–५, ३–६ र ११–९ को सेटमा पराजित गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी पहिलो भए । उनले फाइनलमा महेश श्रेष्ठलाई ६–४ र ६–१ को सेटमा हराए । ६५ वर्षमाथि पुरुष सिंगल्सको उपाधि ज्ञानेन्द्र ताम्राकारले जिते । उनले उपाधि भिडन्तमा दीपक श्रेष्ठको चुनौती ४–० र ५–३ ले समाप्त पारे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कृष्णराज घले र विनोद गुरुङ फाइनलमा भिड्ने छन् । सेमिफाइनलमा कृष्णले विमल गुरुङलाई ७–५ र ६–१ तथा विनोदले विकास गुरुङलाई ६–४ र ६–२ को सेटमा पाखा लगाए । सोही उमेरसमूहको डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले प्रताप मोक्तान र थोङबम तुलेश्वर सिंहको जोडीलाई ६–१ र ६–३ तथा राजु क्षेत्री र सुदर्शन विष्टको जोडीले डेगेन्द्र श्रेष्ठ र सन्जिव श्रेष्ठको जोडीलाई ७–५ र ६–२ ले पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुपको जोडीले ज्ञानेन्द्र ताम्राकार र ध्रुव गुरुङको जोडीलाई ६–२ र ७–५ तथा राजनसिंह भण्डारी र करिम मुल्लाहको जोडीले दीपक श्रेष्ठ र अमृत कंशाकारको जोडीलाई १–६, ६–३ र १२–१० को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताअन्तर्गत शुक्रबार पुरुष डबल्स, पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि डबल्स तथा पुरुष ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्सको फाइनल हुनेछ ।