समाचार

दाहालले आदिवासीलाई भनेः बिदाबारे ओलीजी सँग कुरा गर्छु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आदिवासी जनजाति महासंघसँग आबद्ध प्रतिनिधिले सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज बिहान भेट गर्दै उनीहरुले सांस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौती भएको भन्दै पुनरावलोकनको माग गरेका हुन् ।

अध्यक्ष दाहालले सम्बद्ध समुदायसँग छलफल गरेर बिदा कटौती गर्न सकिएको भए राम्रो हुने भन्दै पुनरावलोकनका लागि पहल गर्ने बताएका थिए। उनले धेरै बिदा भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने बताउदैँ सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको बताएकोे अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताएको भेटमा सहभागी आदिवासी जनजाति नेता परशुराम तामाङले जानकारी दिए । अध्यक्ष दाहालले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको विषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास दिलाए ।

भेटमा सहभागी आदिवासी जनजातिका प्रतिनिधिले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धि भएको भन्दै सरकारले कुनै सरसल्लाह बिना नै बिदा कटौती गरेको गुनासो गरेका थिए ।

त्यसैगरी आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निष्क्रिय बनाएको, गुम्बा विकासमा बजेट नदिएको, दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामाङ्कनमा पहिचान छुटाएको लगायतका गुनासो अध्यक्ष दाहालसमक्ष राखेको तामाङले जानकारी दिए।