कृषि

हाईब्रिड मकै परीक्षण

रत्ननगर । रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले विभिन्न क्षेत्रमा परीक्षण गरिएका बहुराष्ट्रिय कम्पनीका हाइब्रिट (वर्णशंकर) मकैको ‘परीक्षण मूल्यांकन’ शुरु गरेको छ ।

चितवनको रामपुर, बाराको परवानीपुर र सुनसरीको तरहरामा अहिले बहुराष्ट्रिय कम्पनीका ४४ र यसअघि सूचीकृत भएका भएका चार गरी ४८ जातका मकैको परीक्षण भइरहेको छ ।

नेपालमा कुन जात लगाउन योग्य छ र कुन जात लगाउन अयोग्य छ भनेर परीक्षण गरिएका मकैको कृषि वैज्ञानिककै सहभागितामा आजदेखि ‘परीक्षण मूल्यांकन’ थालिएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक डा केशवबाबु कोइरालाले जानकारी दिए ।

आज रामपुरबाट शुरु भएको परीक्षण बाराको परवानीपुर र सुनसरीको तरहरामा पुगेर सकिने छ । मूल्यांकनका लागि कृषि वैज्ञानिकसहित विषयगत समितिका प्रतिनिधि तथा एग्रोभेटका प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म चल्ने मूल्यांकनका क्रममा उनीहरुले परीक्षण गरिएका मकैको अवस्था, उत्पादन, रोग किराको संक्रमण, घोगाको अवस्था, दाना कस्तो लागेको छ भनेर अध्ययन गर्ने भएका छन् ।

यस्तै अध्ययनका क्रममा चाँडो पाक्यो कि ढिला पाक्यो, बोट अग्लो छ कि होचो छ तथा घोगा कुन स्थानमा लागेको छ लगायतका विषयमा मूल्यांकन हुने मकैबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरले जानकारी दिए ।

किसानका लागि मकै लगाउन सिफारिश गर्ने समयमा यसरी अनुसन्धान गरेर आएको प्रतिवेदनलाई समेत आधार मानिने जनाइएको छ । सो परीक्षण मूल्यांकनमा २१ वज्ञानिक सहभागी भएका छन् ।