अन्तर्राष्ट्रिय

‘इरानसँगको सम्झौता खारेज भए युद्ध’

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संयुक्त राज्य अमेरिकालाई इरानको परमाणु क्षमता सीमित पार्ने उद्देश्य लिएको अन्तराष्ट्रिय सम्झौताबाट पछि नहट्न आग्रह गरेका छन्।

बीबीसीसँग कुरा गर्दै उनले मध्यपूर्व ‘खतरनाक अवस्थाबाट गुज्रिरहेको र उक्त सम्झौता संरक्षण गर्न नसकिए युद्धको जोखिम’ रहेको बताए।

सन् २०१५ मा इरानले आफ्नो अधिकांश परमाणु कार्यक्रमलाई स्थगित गर्ने सहमति जनाएको थियो।

त्यसको बदलामा अन्तर्राष्ट्रिय समुदायले इरानविरुद्धका धेरै आर्थिक प्रतिबन्धहरू फुकुवा गरिदिएका थिए।

चेतावनी
तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इरानले आफ्नो पक्षको प्रतिबद्धता पुरा नगरेको ठान्छन् र उनले अमेरिका आगामी दिनमा उक्त सम्झौताबाट अलग हुने चेतावनी दिएका छन्।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले उक्त सहमति एउटा महत्वपूर्ण उपलब्धि भएकाले उक्त कूटनीतिक जितलाई संरक्षण गरिनुपर्नेमा जोड दिएका छन्।

ूअझ राम्रो विकल्प तयार नभएसम्म यसलाई खारेज गर्नुहुँदैन, उनले बीबीसीसँग भने।

इरानबारे मानिसहरुले व्यक्त गरेका चासोहरू राष्ट्रसंघका महासचिवले बुझेका छन्।

तर उनले मध्यपूर्व एकदमै जोखिमपूर्ण अवस्थामा रहेको र यदि उक्त सम्झौता खारेज गरिए युद्धको अवस्था समेत आउनसक्ने चेतावनी दिएका छन्।

अमेरिकाका युरोपेली साझेदारहरुले ट्रम्पलाई उक्त सहमतिमा कायम रहेर इरानको बलिस्टिक क्षेप्यास्त्र र क्षेत्रीय तहमा आक्रामक व्यवहार नियन्त्रणका लागि नयाँ कदमहरू चाल्न सुझाव दिइरहेका छन्।

तर पश्चिमा कूटनीतिज्ञहरु निराश हुँदै गइरहेका छन् र आफ्ना कूटनीति र राष्ट्रसंघका महासचिवको बिन्तीभाउ सुनेको नसुनै हुने हो कि भन्ने आशंका व्यक्त गरिरहेका छन्। -बिबिसी नेपालीबाट