शिक्षा

जनप्रभातका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण

काठमाडौँ । कालीमाटीस्थित जनप्रभात माविमा करीब ४०० विद्यार्थीलाई पाठ्यपुस्तक, कलमलगायत पाठ्यसामग्री वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिले करीब रु एकलाख ७० हजार बराबरका ती सामग्री विद्यार्थीलाई बुधबार उपलब्ध गराएको हो । सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउने उद्देश्यले हालै ल्याएको भर्ना अभियानलाई प्रवद्र्धन गर्न नवआगन्तुक ८४ विद्यार्थी टीका लगाएर स्वागतसमेत गरिएको थियो ।

पाठ्यसामग्री वितरण गर्दै प्रदेशसभा सदस्य राजेश शाक्यले सामुदायिक विद्यालयको विकास र स्तरोन्नतिका लागि प्रदेश सरकारले निर्माण गर्ने नीति तथा योजनाका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शाक्यले पछिल्लो समय विद्यालयले समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र पूर्वाधार विकासमा समेत भएका प्रगतिको सराहना गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोलले हाल करीब ६०० विद्यार्थी रहेको र यस वर्षको विद्यार्थी भर्ना अभियानले पनि विद्यार्थी बढ्ने क्रममा भएको जानकारी दिँदै आगामी दिनमा विद्यालयलाई यस क्षेत्रको उत्कृष्ट विद्यालय बनाउन आफू क्रियाशील रहने बताए ।

विद्यालयका प्रधानाध्यापक सत्येन्द्र कर्णले विद्यालयको नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना सन्तोषजनक भएको बताउँदै यसले सामुदायिक बिद्यालयमा बढ्दो आकर्षणको पुष्टि गरेको बताए ।