समाचार

पाँचथर जोड्ने काबेली नदीको पुल जोखिममा

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ ।

निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र पाँचथरको याङ्वरक गाउँपालिकालाई जोड्ने उक्त पुल जोखिममा परेको हो ।

पुल आसपासमै पूर्वाधारको निर्माण गरिएकाले दुवैतर्फका जिप जीर्ण बन्दै गएका छन् । जिपसँगैको भागलाई खनेर सडकको रुपमा प्रयोग गरिएको छ । यस्तै पाँचथरतर्फको भागमा पर्ने पुलको जिपसँगै जोडेर पेनस्टक पाइपलाइन विस्तार गरिएकाले पुलको अवस्था थप जीर्ण बन्दै गएको छ । पुल माथिको भागसमेत माटो र ढुंगाले भरिएर खाल्डाखुल्डी परेको छ । पाइप गाड्नका लागि जिपकै छेउमा खाल्डो खनिएकाले विगत केही दिनदेखि पुलको मुनिबाट सवारीसाधन ओहोरदोहोर गरेका थिए ।

पाँचवर्ष अघि रु नौ करोडको लागतमा निर्माण गरिएको पुलको नियमन गर्ने निकाय इलाम सडक डिभिजन कार्यालय भने पुल जीर्ण बन्दासमेत मौन रहेको छ । कार्यालयको बेवास्ताकै कारण पुल माथिको भागमा माटोले भरिएर पानी समेत पस्न थाले पछि हिलाम्मे बनेको छ । यो पुल भत्किए ताप्लेजुङ र पाँचथरका धेरै गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् ।