स्वास्थ्य

वृद्धाको उपचार खर्च गाउँपालिकाले बेहोर्ने

बनियानी, झापा । आफ्नै घरमा बलात्कृत भएकी इलामको रोङ गाँउपालिका–१ कटहरेकी एक ७७ बर्षीया वृद्धाको उपचार खर्च रोङ गाउँपालिकाले बेहोर्ने भएको छ ।

झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचाररत वृद्धाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बुधबार आउनुभएका गाउँपालिका अध्यक्ष शम्शेर राईले घटनाको भत्र्सना गर्दै उपचार खर्च गाउँपालिकाले बेहोर्ने बताए ।

गापा अध्यक्ष राईसहित अस्पताल आएको टोलीले अस्पताल प्रशासनसँग छलफलसमेत गरेको थियो । छलफलपछि पीडित वृद्धाको उपचार खर्च गाउँपालिकाले बेहोर्ने जनाइएको थियो ।

आइतबार बेलुका करीब ११ बजे केही युवाले वृद्धामाथि बलात्कार गरी मरणासन्न हुने गरी कुटपिटसमेत गरेका थिए । पीडकले वृद्धाको जिब्रोसमेत थुतिदिएका थिए । शल्यक्रिया गरी उनको जिब्रो जोडिएको छ ।

अचेत अवस्थामा फेला परेकी उनको तीन दिनदेखि उपचार भइरहेको छ भने स्वास्थ्यमा सुधार आइरहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय, पशुपतिनगरले घटनामा संग्लन भएको आरोपमा तीनजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।