देश

कृष्णपुर नपाका दश सडक कालोपत्रे हुँदै

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले एकैसाथ दशवटा सडक रु दुई करोड ६२ लाखको लागतमा कालोपत्रेको कार्य अगाडि बढाएको छ ।

जनप्रतिनिधि आएपछि पहिलो पटक नगरपालिकाका सडक स्तरोन्नतिको कार्य गरी कालोपत्रे हुन लागेका हुन् । गुलरियादेखि मालुवेला जाने सडक रु ४० लाख, बाणी–नन्दीपुर जाने सडक रु २५ लाख, लम्वागडैया जाने सडक रु २७ लाख र जनउत्थान जाने सडक रु २० लाखको लागतमा कालोपत्रे भइरहेको नगरपालिकाका इञ्जिनियर चूडामणि कलौनीले बताए ।

बालुवाफाँटा जाने सडक, बाणी मुक्तकमैया शिविर जाने सडक, गडविजुला ताल हुँदै जाने सडक, बाणी बजार पश्चिम हुँदै जाने सडक, ओखलफाँटा जाने सडक र कृष्ण मावि हुँदै जाने कृषि सडक कालोपत्रेको कार्य अगाडि बढेको उनले बताए ।

प्रतिसडक लागत मूल्य रु २५ लाख रहेको छ । कालोपत्रेको कार्य शुरु गरिएका सडक निर्माणको कार्य क्रमागतरुपमा अगाडि बढाउने लक्ष्य लिइएको छ । नगरपालिकालाई १५ वर्षभित्रै समृद्ध बनाउनका लागि सडक स्तरोन्नतिको कार्यमा जोड दिइएको छ ।