शिक्षा

युट्युवमा भाइरल बनिरहेका अशोकलाई निःशुल्क पढाउने

पथरी, मोरङ । पछिल्लो समय युट्युव तथा सामाजिक सञ्जालमा भाइरल बनिरहेका मोरङको उर्लाबारीका अशोक दर्जीलाई निःशुल्क १० कक्षासम्म पढाउने कागजी सहमति भएको छ ।

उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले अशोकलाई होस्टलसहित १० कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मिलाएको हो । उर्लाबारीका समाजसेवी पूर्ण वाइवा, समाजसेवी किशोर श्रेष्ठ, विवेक हिङमाङलगायत स्थानीयको उपस्थितिमा अशोकका बुबा पूर्ण दर्जी, आमा ललिता दर्जी र विद्यालयका सञ्चालक दीपक न्यौपानेबीच यस्तो सहमति भएको हो । अशोकलाई चाहिने सम्पूर्ण सामग्री पनि स्कूलले नै उपलब्ध गराउने पनि सहमति भएको छ ।

यसैगरी, अशोकसँगै उनका दुईजना बहिनीलाई पनि १० कक्षासम्म पढ्ने वातावरण स्कूलले मिलाउने सहमति भएको छ । बहिनीलाई भने झापामा नै रहेको विद्यालयमा पढाउने सहमति भएको बेथेल एजुकेशन एकेडेमीका अध्यक्ष दीपक न्यौपानेले जानकारी गराए ।

आर्थिक अवस्था नाजुक भएका कारण नै अशोक र उनका बहिनी स्कुल जान सकेका थिएनन् । उनीहरुलाई स्कूल पढाउने कार्यमा समाजसेवी किशोर श्रेष्ठ, विवेक हिङमाङ, ममता राना, पूर्ण वाइवालगायतले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

गायक हेमन्त रानाको ‘सुन साँइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आँखामा तिमी छौँ’ जस्ता गीत उत्तिकै मिठासपूर्ण स्वरमा गाउँछन् । अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रम गरेसँगै उनको चर्चा चुलीनुका साथै सहयोग जुट्न थालेको हो ।