पर्यटन/संस्कृति

प्रसिद्ध धार्मिकस्थल रिखार पर्यटकको पर्खाइमा

कमल खत्री/ म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘रिखार क्षेत्र’ प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । संसारको सातौँ अग्लो धौलागिरि हिमालको काखमा रहेको पवित्र धार्मिकस्थल ओझेलमा परेको हो ।

सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखारमा जनै पूर्णिमाको दिन विशेष पूजाआजा हुने भएपनि अन्य समयमा भने भक्तजन र पर्यटकको आगमन शून्य हुने गरेको स्थानीयवासी बताउँछन् ।

रिखारको महत्व र यहाँको प्राकृतिक सुन्दरताको बारेमा प्रचारप्रसार हुन नसक्दा उल्लेख्य मात्रामा पर्यटक र भक्तजन भित्रन नसकेको स्थानीय पात्लेखर्क रिखार युवा क्लबका सचिब अंकित पुनले बताए । “यहाँ आउने जो कोही पनि मख्ख परेर फर्कने गरेका छन्, तर भौगोलिक रुपमा विकटता रहेकाले यस क्षेत्रको बारेमा प्रचारप्रसार हुन सकेको छैन,” सचिव पुनले भने ।

हिमालको फेदीमा रहेको तलाउमा डुंगा आकारको ढुंगामाथि रहेको रिखार मन्दिरमा पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । डुंगा आकारको उक्त ढुंगाको कुवामा कहिल्यै नसुक्ने पानी रहनु थप आकर्षण हो ।

यस क्षेत्रको विकास र संरक्षणसँगै प्रचारप्रसारका लागि पहल गरिरहेको रिखार क्षेत्र संरक्षण समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले बताए । धौलागिरि बेसक्याम्पसँगै करीब चार हजार ५०० मिटर उचाइमा अवस्थित रिखार भौगोलिक हिसाबले धेरै रमणीय ठाउँको रुपमा चिनिँदै आएको छ ।

धौलागिरि हिमालको आधार शिविर पुग्न नजिकको दूरीमा पर्ने र पवित्र तीर्थस्थल रिखारको दर्शन गर्न सकिने यो क्षेत्रमा झोलुंगे पुल, व्यवस्थित पदमार्ग, खानेपानी, थप धर्मशालालगायतका पूर्वाधार निर्माण गर्न गाउँपालिकाबाट यथेष्ट बजेट विनियोजन गर्न आवश्यक रहेको समितिले जनाएको छ ।

रिखार क्षेत्रको दर्शन तथा पूजापाठ र भ्रमणमा आउने तीर्थयात्रीका लागि पदमार्ग निर्माण, प्रचारप्रसारमा मालिका गाउँपालिकाको हिदीका ६५ वर्षीय बाबा गमबहादुर शेरपुञ्जाले सप्तऋषिको मूर्ति प्रतिस्थापन र पदमार्ग, खानेपानीलगायतको पूर्वाधार निर्माणमा सहयोग गरेका छन् । यस क्षेत्रमा सप्तऋषि एवं पौलत्स्य ऋषि र स्वर्गद्वारी महाप्रभुले समेत तपस्या गरी ज्ञानआर्जन गरेको धार्मिक विश्वास रहेको छ ।

माघ फागुनमा पर्ने हिउँ र चैत वैशाखमा फुल्ने लालीगुराँस, चाँपलगायतको सुन्दरताले मोहित पार्ने यस क्षेत्रमा जाने पर्यटक एवं तीर्थयात्री बेनी हुँदै ग्नामसम्म सवारी यात्रामार्फत र त्यहाँदेखि दरमिजा, चिमखोला, नक्कलडाँडा, खरिबोट, घ्यासीखर्क, दुवाडी हुँदै पात्लेखर्कमा पुगेर बास बस्न सक्छन् भने त्यहाँदेखि एक बिहानको यात्रामा रिखार मन्दिर र एक दिनको यात्रामा धौलागिरि आधार शिविर पुग्न सक्छन् ।

मनोरम हिमशृंखलाको अवलोकन गर्न सकिने यो क्षेत्रमा पाइने दर्जनौँ प्रकारका जडीबुटी र डाँफे, मृग, कस्तुरी, नाउर, झारललगायतका जंगली जनावरलाई नजिकबाट अवलोकन गर्न पाउनु यहाँको थप विशेषता हो ।