पु.समाचार

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिका महत्वपूर्ण

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा संयुक्त रुपमा बुधबार आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका’ विषयको गोष्ठीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ ।

भ्रष्टाचार राष्ट्रको विकास एवं समृद्धिका लागि प्रमुख बाधक रहेको बताउँदै गोष्ठीमा वक्ताहरूले यसको नियन्त्रण गर्दै सुशासनको प्रत्याभूति गराउनुपर्ने बताए । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कावा प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संघीय संरचनाअनुसार स्थानीय तह नयाँ रहेको बताउँदै समृद्धि एवं विकासका लागि सेवामा पारदर्शीता एवं उत्तरदायीपन आवश्यक हुने उल्लेख गरे ।

सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले राज्यको विकासका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन अपरिहार्य भएको बताउँदै भ्रष्टाचारको समूल अन्त्य गर्दै सुशासन कायम गराउने कुरालाई आत्मसात् गर्नुपर्ने बताए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा गणेशराज जोशी, आयोगका सचिव महेश्वर न्यौपाने, सहसचिव कालीप्रसाद पराजुली, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलगायतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।