खेलकुद

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

खोटाङ । दिक्तेलमा बिहीबारदेखि सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा २०, २१ र २२ गते सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका लागि मञ्च, दर्शक बस्ने बाँसको प्याराफिट, कम्पाउन्डिङ, अफिसियल र निर्णयक बस्ने हल, स्वागतद्वार, अस्थायी शौचालय निर्माणलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।

खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी गरिएको आयोजकले जनाएको छ ।

तीन दिवसिय प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः रु एक लाख, रु ७० हजार रु रु ५० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई जनही रु २०/२० हजार प्रदान गरिने जनाइएको छ ।

आयोजकका अनुसार १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि विभिन्न तौल समूहका पुरुष÷महिला कुमिते तथा पुरुष÷महिला काँतातर्फ ३१५ खेलाडीले प्रतिष्पर्धा गर्ने छन् ।

प्रतियोगितामा सातवटै प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, भारत, भुटान, श्रीलंका र बंगलादेशका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।