खेलकुद

क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश ७ लाई

काठमाडौँ । मनमोहन मेमोरियल १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं ७ ले हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल भिडन्तमा प्रदेश ७ ले प्रदेश नं २ लाई २४ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले निधारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रनको योगफल बनायो ।

उसका लागि राहुल भण्डारीले ३८, रोशन सावदले ३७, हृदय विदारीले ३३ तथा नरेन्द्र सावदले २० रन जोडे । बलिङमा प्रदेश २ का विवेक यादवले २ विकेट लिए । दुईसय ९ रनको लक्ष्य पाएर जवाफी व्याटिङमा उत्रेको प्रदेश २ निर्धारत ३० ओभरमा ९ विकेट गुमाएर १९४ रनमा समेटियो । प्रदेश २ का लागि अमित यादवले ८०, तृत राजले २७ तथा साहिल पटेलले २५ रन बनाए भने इमरान शेखले १२ रन जोडे ।

प्रदेश २ लाई १९४ रनमा समेट्ने क्रममा प्रदेश ७ का मनोज लोथ्यालले ५ विकेट लिए भने नरेन्द्र साउदले ३ विकेट झारे । मनोज फाइनल खेलका म्यान अफ दि म्याच घोषित भए ।

उपाधिसहित प्रदेश ७ ले रु दुई लाख ५० हजार, हात पा¥यो भने उपविजेतामा चित्त बुझाएको प्रदेश २ ले क्रिकेट किट्सहित रु एक लाख ५० हजार प्राप्त ग¥यो ।

प्रतियोगितामा प्रदेश २ का विवेक यादव म्यान अफ दि सिरिज घोषित भए । उनले उपाधिसहित रु १० हजार प्राप्त गरे । यस्तै प्रदेश २ कै अमित यादव उत्कृष्ट ब्याट्सम्यान तथा प्रदेश ७ का नरेन्द्र साउद उत्कृष्ट बलर चुनिए । दुवैले जनही रु पाँच हजार प्राप्त गरे ।

त्यसैगरी, प्रदेश ७ का राजन सिंह उत्कृष्ट विकेट किपर र हृदय विदारी उत्कृष्ट फिल्डर घोषित भए । दुवैले ट्रफी प्राप्त गरे ।