खेलकुद

पहिलो खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी

दमक । झापाको दमकमा आजदेखि शुरु भएको दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ लाई ४–० ले पराजित गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौँ विजयी भएको छ ।

एकेडेमीका लागि विदेशी खेलाडी म्यापवेल इलोनले दुई तथा प्रकाश बुढाथोकी र अर्का विदेशी खेलाडी आबाले एक/एक गोल गरे ।

खेलको १२ औं मिनेटमा इलोनले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो गोल २४ औँ मिनेटमा प्रकाश बुढाथोकीले र ३८ औं मिनेटमा पुनः इलोनले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरेर अग्रता दिलाए ।

त्यस्तै, खेलको ५८ औँ मिनेटमा विदेशी खेलाडी आबाले वान भर्सेज वानमा गोल गरेर गोल अन्तर फराकिलो बनाए ।

बिहीबार आयोजक दमक नगरपालिका र रुपन्देही ११ बीच खेल हुनेछ । वैशाख २८ गतेसम्म चल्ने प्रतियोगिताको आजै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।