खेलकुद

खेल गतिविधिमा सबैले ध्यान दिऔँः प्रधानमन्त्री

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य भएकाले खेल गतिविधिमा सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रदेश नं १ कै सर्वाधिक राशि रहेको दमक गोल्डकप फुटबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार खेलकूदको समुचित विकास गर्न प्रयत्नशील रहेको बताए ।

दमक आसपासमा खेलकूदका लागि आवश्यक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “यहाँ खेलकूद मैदान होइन रंगशाला बनाउन नै सरकारले चाहेको छ ।”

उहाँले खेलकूदलाई स्वस्थ र स्वच्छ ढंगले व्यावसायिक बनाउन सुझाव पनि दिए।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार खेलकूदको बृहत्तर विकासका लागि सहयोग गर्न तत्पर रहेको बताए ।

खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रको विकासमा सवै क्षेत्रको रचनात्मक भूमिका हुनुपर्ने बताए ।

दमक नगरपालिकाको नगर खेलकूद विकास समितिले आयोजना गरेको यो प्रतियोगिताअन्तर्गतको आजको उद्घाटन खेल घरेलु टिम रमपम झापा–११ र मदन भण्डारी स्पोर्टस् एकाडेमीबीच प्रतिस्पर्धा हुनेछ । यसवर्ष झापामा भएका गोल्डकपमध्ये यो पाँचौ संस्करण हो ।

प्रतियोगिताका प्रचार संयोजक चन्द्र दाहालका अनुसार प्रतियोगितामा करेन्ट रुपन्देही, शसस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, सरस्वती युथ क्लब, मनाङ म¥र्याङ्स्दी र आयोजक गरी १० टोली सहभागी छन् ।

प्रतियोगिताका विजेताले रु १३ लाख ११ हजार र उपविजेताले रु छ लाख ११ हजारसहित ट्रफी तथा प्रमाणपत्र पाउने छन् ।