सामाजिक सञ्जाल

फेसबुक चलाउनेलाई खुशीको खबर !

काठमाडौं । फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल । यसको कुल सक्रिय प्रयोगकर्ताको संख्या १ हजार ८ सय ७० मिलियन (एक अर्ब ८७ करोड) रहेको छ । यसै वर्षको जनवरीमा ‘दि स्ट्याटिक्स पोर्टल’ ले सार्वजनिक गरेको तथ्यांकमा फेसबुकपछि ‘वाट्सएप्प’ लोकप्रिय रहेको तथ्य बाहिर ल्याएको छ । यसको एक हजार मिलियन र यति नै संख्यामा ‘फेसबुक म्यासेन्जर’ का प्रयोगकर्ताहरु विश्वभरी रहेका छन् ।

त्यस्तै, सामाजिक सञ्जालहरुमध्ये फेसबुकको अनलाईन प्रयोगकर्ता ७९ प्रतिशत रहेको ‘पिउ रिसर्ज सेन्टर’ को तथ्यांकले देखाएको छ । यो क्षेत्रमा आफ्नो साम्राज्य कायम गर्नका लागि फेसबुकले समय समयमा नयाँ नयाँ फिचर्सहरु प्रयोगकर्ताहरुको माझ ल्याउने गरेको छ । त्यसैक्रममा फेसबुकले ‘भिडियो च्याट’ डिभाइस बनाउनमा आफ्नो ध्यान केन्द्रित गरेको छ । कम्पनीले यसको विकास गर्न सके यो नै उसको पहिलो महत्वपूर्ण हार्डवेयर प्रडक्ट हुनेछ ।

यसलाई फेसबुकको बिल्डिङ ८ ल्याबमा तयारी गरिंदैछ । फेसबुक आफ्नो अगामी ‘एफ ८ डेभलपर कन्फ्रेन्स’ मा उक्त डिभाइसको घोषणा गर्ने तयारीमा जोडतोडका साथ लागेको छ । यो डिभाइसले प्रयोगकर्तालाई ठूलो पर्दा र स्मार्ट क्यामेरा प्रविधिबाट भिडियो कल गर्ने बेला एउटै कोठमा वा स्थानमा बसेर कुराकानी गरिरहेको सुखानुभूति गराउने दाबी कम्पनीको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्ना युजर्सलाई यो डिभाईसमार्फत एकअर्कालाई झनै नजिक ल्याउन चाहेको बताइसकेका छन् । यसो त यो डिभाइसको परीक्षण भइसकेको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार फेसबुकले हार्डवेयर प्रडक्टका लागि बिल्डिङ ८ ल्याबै निर्माण गरिसकेको छ । यो ल्याब फेसबुकले अघिल्लो वर्ष नै निर्माण गरेको हो । यसका लागि विश्वकै चर्चित हार्डवेयर विशेषज्ञलाई नियुक्ति पनि गरिसकिएको छ । बिल्डिङ ८ ल्याब प्रोजेक्टलाई हाल गूगलका पूर्व कार्यकारी प्रमुख रेजिना डुगनले नेतृत्व गरिरहेका छन् । डुगनले एउटा समारोहमा भनेका थिए, ‘यो ल्याब बनाउनुको उद्देश्य प्रयोगकर्ताका लागि नयाँ हार्डवेयर प्रडक्ट बजारमा ल्याउनु हो । हामी सफलताको नजिक पुगिसकेका छौ । ’

यसैगरी अर्को खुसीको कुरो, फेसबुक ‘टकिङ रोबोट’ समेत बनाउनमा जुटेको छ । सामाजिक सञ्जालमा यूजर्ससंग रोबोटले अन्तरसंवादलाई बढावा दिने दाबी कम्पनीको छ । यसमा ‘एप्पल सिरी’ र ‘अमेजन एलेक्सा’ उपलब्ध ‘भ्वाइस एसिस्टेन्ट फिचर्स’ राखिने फेसबुकका कर्मचारीहरुलाई उदृत गर्दै केही संचार माध्यमहरुले जनाएका छन् । यो रोबोटले प्रयोगकर्तासंग च्याट गर्नेछ र उसको समस्याहरुको समाधान पनि गर्ने छ । त्यस्तै, फेसबुकले ‘स्मार्ट स्पीकर’ समेत बजारमा ल्याउन तयारी गरिरहेको छ । सन २०१८ मा उक्त स्पिकर बजारमा उतार्ने जमर्कोका साथ कम्पनी अघि बढेको छ । १५ इन्चको ‘टच प्यानेल’का साथ बजारमा उपलब्ध हुने भनिएको यो स्पीकरलाई फेसबुकको बिल्डिङ ८ डिपार्टमेन्टमा तयारी गरिंदैछ । यसको डिजाइन बनाइसकिएको छ । पेन्टागन टेक्नोलजीले यसको उत्पादन गर्ने जिम्मा पाएको छ ।

माथि उल्लेखित फिचर्स र डिभाइसहरुमा मात्रै फेसबुक सीमित हुन चाहेको छैन । उसले अब स्क्रिनमै पनि लाईभ अप्सनका साथ क्यामेरा प्रयोग गर्नसकिने अर्को नयाँ फिचर पनि चाँडै ल्याउदैछ । यो फिचरबाट प्रयोगकर्ताले फेसबुक क्यामेराबाट ‘गो लाइभ’ हुन सक्ने छन् । यो ‘अप्सन’ पहिले ‘स्टेटस अपडेट बक्स’ मा ‘लाईभ’ टाइप गरेर एक्टिभ हुन्थ्यो । यसो त यो फिचर्स धेरै हदसम्म इन्स्टाग्रामको ‘लाइभ’ फिचरसंग मिल्दोजुल्दो छ, जुन अघिल्लो वर्ष सार्वजनिक गरिएको थियो । ‘टेकक्रन्च’ को एक रिपोर्ट अनुसार तत्कालका लागि फेसबुकका केही प्रयोगकर्ताले मात्रै यसको उपयोग गर्न फाउने भएका छन् ।

फेसबुक क्यामेरा स्क्रिन मै प्रयोग गर्न मिल्ने यो फिचर्सको अतिरिक्त फेसबुक क्यामेरासंग जोडिएका सबै फन्सन्सलाई जोडेर एउटा सिंगल स्क्रिन ल्याउने तयारपनि कम्पनीको छ । यी नयाँ फिचर्सबाट प्रयोगकर्तालाई फेसबुक पोस्टमा लाइभ भिडियो शेयर गर्ने अप्सनको साटो आफ्नो फेसबुक ‘स्टोरी’ बाटै ‘गो लाईभ’ को अप्सन प्राप्त हुने छ । यसबाट फेसबुक स्टोरी र पोस्ट दुवै एकैपटक ‘गो लाइभ’ हुन सक्छ । सन् २०१५ मा फेसबुकले लाइभ स्ट्रिमिङ सर्भिस सार्वजनिक गरेको थियो । शुरुमा यो चर्चित हस्ति र प्रतिष्ठित व्यक्तिहरुका लागि मात्र उपलब्ध गराएको थियो, पछि यो सबैका लागि खुला गरिएको थियो ।

यसैगरी अगामी दिनहरुमा फेसबुकले आफ्नो ‘न्युज फिड’ लाई अपडेट गर्ने तयारी गरेको छ । यसका लागि फेसबुकले ती वेबसाइटहरुको लिंकमा ध्यान दिनेछ, जुन तीब्र गतिमा लोड हुने गर्छ । कुनैपनि लिंक खोल्न धेरै समय लाग्ने वेबसाइटहरुलाई कम्पनीले विस्तारै बाई–बाई भन्ने सोच बनाएको छ । त्यस्ता वेबसाइटलाई फेसबुकले आफ्नो न्यूज फिडमा कम गर्दै लाने जनाएको छ । फेसबुकका अधिकारीहरुका अनुसार ३ सेकेन्डमा वेबसाइट नखुलेको अवस्थामा ४० प्रतिशत प्रयोगकर्ता त्यस्ता लिंकलाई बन्द गर्ने भएकाले ‘स्लो स्पिड वेबसाइट’ लाई अब हटाउन लागेको हो ।

यसैबीच अमेरिकाको सनफ्रान्सिस्कोबाट प्राप्त समाचार अनुसार फेसबुकले बुधबार टेलिभिजन मार्केटमा आफ्नो कदम बढाएको छ । फेसबुकले ‘वाच’ नामबाट एउटा सेवा शुरु गरेको छ, जसमा प्रोगाम भिडियो देखाइने छ । ‘वाच’ मा प्रोफेसनल महिला बास्केटवलदेखि सफारी शो र प्यारेन्टिङ प्रोग्राम समेत हेर्न सकिन्छ । शुरुमा यो सेवा अमेरिकाको फेसबुक मोबाइल एप, वेबसाइट र टीभी एप्समा सीमित केही मानिसले मात्रै हेर्न गर्न सक्ने छन् ।

फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ–नयाँ स्वाद पस्किने तयारी गरिरहेकै बेला लस भेगासमा जारी कन्ज्युमर इलेक्ट्रोनिक्स प्रदर्शनीमा एउटा ‘सेल्फी ड्रोन’ सार्वजनिक भएको छ । क्रेडिट कार्ड फोल्डर आकारको यो सेल्फी ड्रोन पकेटमा सजिलै अटाउन सक्छ । ‘होब्बिको सी–मी’ नाम दिइएको फोल्डेबल माइक्रो ड्रोनबाट प्रयोगकर्ताहरुले सेल्फीसंगै भिडियो पनि खिच्न सक्नेछन् । हेब्बिको कम्पनीले बनाएका यो ड्रोनले ३६० डिग्रीमा सेल्फी लिने क्षमताको छ ।

साथै यसमा फोटो टाइमर, ब्रस्ट मोडलगायतका ‘हाईटेक फिचर्स’ पनि राखिएका छन् । यो ड्रोन हावामा ६ फिट उचाईमा सजिलै उड्न सक्छ । यसलाई १० मिनेटसम्म लगातार हावामा उडाउन सकिन्छ । ८ मेगापिक्सेल क्यामेरा फ्ल्यास लाईट पनि यसमा जडान गरिएको छ । प्रयोगकर्ताले यसलाई फुल एचडी (१०८०पी) भिडियो रेकर्ड गर्न सक्ने छन् । अगामी वर्षको मार्चमा यो बजारमा बिक्रीका लागि ल्याइने तयारीमा कम्पनी लागेको छ । -एजेन्सीको सहयोगमा