देश

राजधानी काठमाडौँमा युवतीहरूको नयाँ धन्दा, प्रहरी नै परे चकित !

काठमाडौं । सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आफूलाई सिआइबीका डिएसपी बताउने एक युवतीसहित तीनजनालाई बिहीबार पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । उनीहरूबाट नक्कली पेस्तोल र हत्कडीलगायत सामान बरामद भएको छ । घटनाको अनुसन्धान भइरहेको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।

विगतमा पनि जेल परेर छुटेका शुक्रे लामा नेतृत्वको गिरोहलाई सिआइबीले पक्राउ गरेको हो । उनीहरूले विभिन्न व्यापारीलाई पक्राउ गरी कुटपिटका साथै थुनामा राखेर पैसा असुल्दै आएका थिए । सञ्चार सेट र पेस्तोलसमेत बोक्ने र आफूहरू सादा पोसाकका प्रहरी भएको भन्दै उनीहरूले यस्तो धन्दा चलाउँदै आएका थिए । एक घर भाडामा लिएर त्यो सिआइबीको सेफहाउस भएको भन्दै त्यसमा थुनामा राखेर पैसा असुलेको प्रहरीले जनाएको छ । गिरोहका नाइके शुक्रे भने फरार छन् । उनका सहयोगी सरु श्रेष्ठलगायतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

नाटकीय शैलीमा ठेकेदारको अपहरण सो समूहका दुईजना गत माघमै पक्राउ परिसकेका छन् । हाल पक्राउ परेकी तिनै युवती सरुमार्फत उनीहरूले गत ४ पुसमा सिन्धुलीका ठेकेदार रमेश कुँवरलाई अपहरण गरी लुटपाट गरेका थिए । आफूलाई जागिर लगाइदिन भन्दै युवतीले महाराजगन्जको इन्द्रेणी फुड क्याफेमा भेट्न बोलाएकी थिइन् । भेटपछि युवतीले चिया खान आफ्नो डेरामा जाने भन्दै नजिकको गणेशबस्तीको घरमा पु(याइन् ।

फ्ल्याटमा पुगेको केही समयमै आफू युवतीको दाइ बताउने एक युवक आएर आफ्नो बहिनीलाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरीलाई खबर गरेको भन्दै आफ्नै गिरोहका व्यक्तिलाई बोलाएका थिए । दुई व्यक्ति आफूहरू प्रहरी भन्दै पेस्तोल र सञ्चारसेट बोकेर पक्राउ गरेको नाटक गरी कुटपिट गरेका थिए । पैसा दिए छाडिदिने भन्दै उनीहरूले डिल सुरु गरेका थिए । जसअनुसार कुँवरसँग भएको ५० हजार नगद र सुनका गहना लिएर ११ लाख रुपैयाँ चेक दिन लगाएका थिए । त्यहाँबाट अन्यत्र लैजान खोज्दा कुँवर गौशालाबाट भागेका थिए ।

त्यसरी उनलाई अपहरण गर्ने कुमानन्द खड्का र नवीन राईलाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको थियो । उनीहरू दुवैजना हाल जेलमा छन् । त्यसवेलादेखि नै शुक्रे र सरुलगायत व्यक्ति फरार थिए । फरार भएकै वेला उनीहरूले धेरै व्यक्तिलाई त्यही शैलीमा युवती लगाई अपहरण गरी बलात्कार मुद्दामा फसाउने भनेर नक्कली प्रहरी कार्यालयसमेत खडा गरी पैसा लिँदै आएको खुलेको हो । सो गिरोहबाट सरकारी कर्मचारीसमेत पीडित भइसकेका छन् । युवतीमार्फत चिनजान, कुरा नमिलेपछि पक्राउ प्रहरीका अनुसार सुरुमा ठेकेदार तथा कर्मचारीहरूलाई सरु नामक युवतीले विभिन्न स्थानमा भेट्न बोलाउँथिन् ।

उनले थप कुरा गर्न फ्ल्याटमा लिएर जान्थिन् । शारीरिक सम्बन्ध राख्नसमेत उनले नै उक्साउँथिन् । त्यही बीचमा केही व्यक्ति युवतीको आफन्त बनेर फ्ल्याटमा पुग्थे । आफ्नो मान्छेलाई बलात्कार गरेको भन्दै सिआइबीलाई खबर गरेको नाटक गर्थिन् । तत्कालै पेस्तोल र हत्कडी बोेकेका व्यक्तिहरू त्यहाँ पुगेर ती व्यक्तिलाई पक्राउ गर्थे । पक्राउ गरी एक गोप्य घरमा हत्कडी लगाएर लैजान्थे । उक्त घर सिआइबीको सेफहाउस भएको भन्दै रातभरि थुनामा राखेर ब्ल्याकमेलिङ गरी पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ ।