कृषि

निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको आज यहाँ उद्घाटन गरे ।

तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३०० प्रतिनिधिको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक आयोजित सो सम्मेलनमा सिँचाइमार्फत कृषि उत्पादन कसरी वृद्धि गरी गरिबी निवारणमा योगदान पु¥याउने भन्ने रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँंचाइ मन्त्रालय र सिंँचाइ तथा जल विकास नियोगद्वारा संयुक्त रुपमा आयोजित सो सम्मेलनको नारा ‘हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने रहेको छ । जलस्रोतका क्षेत्रका काम गर्ने सो नियोग विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । नेपालले सो संस्थाको सदस्यता सन् १९७३ मा लिएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्वाहमुखी नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण, यान्त्रीकरण गर्नुपर्ने खाँचो औल्याए । उनले भने, “कृषि उत्पादन बढाउन दिगो सिँंचाइ प्रणाली आवश्यक पर्छ, अबको योजना कृषि र सिँचाइलाई अलगअलग रुपमा नभई समन्वयात्मक रुपमा अगाडि बढाउनुपर्छ ।”

जथाभावी रुपमा जमिन खण्डीकरण गर्ने प्रवृत्तिलाई रोक्न, चुरे क्षेत्रलाई थप संरक्षण गर्न राष्ट्रपति भण्डारीले आग्रह गर्दै कृषि, वन, वागवानी र सिँचाइ नै नेपालका विकास र समृद्धिका आधार हुन् भने । उनले व्यवस्थित सिँचाइ बिना दिगो विकास सम्भव नहुने चर्चा गर्दै जलवायु परिवर्तनका असर जलस्रोत र कृषिका क्षेत्रमा कसरी कम पर्न दिन सकिन्छ भनेर थप अध्ययन अनुसन्धानमा ध्यान दिन आग्रहसमेत गरे ।

ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्री वर्षमान पुनले आर्थिक समृद्धिका लागि नेपाल सरकारले ऊर्जा, जलस्रोत र सिँचाइ तीन क्षेत्रमा विशेष ध्यान दिएको बताए । उनले तीनै तहको राजनीतिक निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक स्थायित्वका साथ अगाढि बढिरहेको चर्चा गर्दै वर्षभरि सिँचाइ हुने नयाँ प्रविधि, ऊर्जामा नयाँ नयाँ लगानीमा सरकारले जोड दिइराखेको छ भने ।

नियोगका अध्यक्ष फेलिक्स राइन्डर्सले नेपालको जलस्रोत नै आर्थिक विकासको आधार हुने हुँदा पानीको अधिकतम सदुपयोगका ध्यान दिन सुझाव दिए ।

ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माले सिँचाइ तथा जल व्यवस्थापनमा थप विकास गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए ।