समाचार

पारिश्रमिकका लागि श्रमजीवी पत्रकार सक्रिय हुनुपर्छ

पाल्पा । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा आइसकेको अवस्थामा उचित पारिश्रमिक नपाएको गुनासो बढेपनि सम्बन्धित पत्रकारबाट लिखित उजुरी कमै मात्रा आउने गरेको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगा पराजुलीले बताएका छन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ पाल्पा शाखाको संयोजनमा ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पराजुलीले ऐनमा उल्लेख भए बमोजिमको पारिश्रमिक लिन श्रमजीवी पत्रकार सक्रिय हुनुपर्छ भने । उनले बिना पारिश्रमिक र बिना नियुक्ति सञ्चार माध्यममा काम नगर्न र नगराउन अनुरोध पनि गरे । सरकारले २०७२ सालमा श्रमजीवी पत्रकारको न्युनकतम पारिश्रमिक १९ हजार ५०० र १४ हजार १०० तोेकेको छ ।

महासंघका संस्थापक जिल्ला अध्यक्ष मेघराज शर्माले श्रमजीवी पत्रकार ऐन अधुरो भएकाले ऐनलाई पूर्णता दिनुपर्नेमा जोड दिए। विसं २०३६ देखि समानुपातिक विज्ञापनका कुरा उठाउँदै आए पनि अझै काम हुन नसक्नु दुःखद पक्ष रहेको उनले बताए ।

उक्त शाखाका पूर्वअध्यक्ष, गोविन्द्र भट्टराई, झपेन्द्र गहिरे, भगवान् भण्डारी र वर्तमान अध्यक्ष राजेशकुमार अर्याललगायतले पत्रकारिकता पेशालाई व्यावसायिक रुपमा अघि बढाउन समानुपातिक विज्ञापन समान रुपमा वितरण हुनुपर्नेमा जोड दिए ।
जिल्लामा पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति अभाव र विज्ञापनको समस्या र उचित पारिश्रमिक पाउन नसक्ने लगायतका समस्या रहेको गुनासो छ ।