पर्यटन/संस्कृति

हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदा पुनःनिर्माण भएनन्

काठमाडौँ । भूकम्पको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका दर्जनौँ सम्पदाको पुनःनिर्माण शुरु हुन सकेको छैन ।

पुनःनिर्माण शुरु भएका गद्दी बैठक नौतले दरबारलगायत सम्पदाको काम पनि सुस्त गतिमा भइरहेको छ । सम्पदा पुनःनिर्माण नहुँदा विदेशी पर्यटक आउन कम भएको पर्यटन व्यवसायीको भनाइ छ ।

बीस वर्षदेखि हनुमानढोका दरबार क्षेत्रमा पर्यटकका लागि रिक्सा चलाउँदै आएका धादिङका विशाल लामा भूकम्पको दुई वर्षसम्म पर्यटक न्यून आएकामा विसं २०७४ पछि केही बढ्न थालेको बताउँछन् ।

वसन्तपुर दरबार क्षेत्रका मजु देग, जोशी परिवारको गुठीका रुपमा रहेको नारायण मन्दिर, लक्ष्मीनारायण मन्दिरको पुनःनिर्माणको पत्तो छैन । नौ खुड्किला र तीन तलाको मजु देगलगायत मन्दिरमा जाने ढोकामा ताला लगाएर राखिएको छ । पुनःनिर्माणको सुरसार छैन । लक्ष्मीनारायण मन्दिर अघिल्तिरको महादेव मन्दिर अझै टेको लगाएर राखिएको छ ।

स्थानीय रामशंकर श्रेष्ठ गद्दी बैठकको काममा खटिएका कामदार चार दिन काम गरेपछि हप्तौँ बेपत्ता हुने गरेको सुनाउँछन् । यस किसिमले पुनःनिर्माणमा वर्षौँ लाग्ने र पुरातात्विक, सांस्कृतिक एवं मौलिक हिसाबले महत्वपूर्ण सम्पदाको अस्तित्व संकटमा पर्ने उनको चिन्ता छ ।

वसन्तपुर दरबार क्षेत्रको प्रमुख सम्पदा काष्ठमण्डपको पुनःनिर्माण पनि हुनसकेको छैन । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले मंगलबार भेला आयोजना गरे । भेलाले काष्ठमण्डप पुनःनिर्माण गर्न भन्दै प्रदेशसभा सदस्य राजेश शाक्यको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरेको छ ।

गत वर्ष वैशाख २९ गते काष्ठमण्डप पुनःनिर्माणका गर्न त्रिपक्षीय सम्झौता भएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानकाबीच भएको सम्झौता तीन महिनामै भंग गरी महानगरपालिकालाई जिम्मेवारी दिइएको थियो । महानगरले अहिलेसम्म काम शुरु गर्नसकेको छैन ।

पुरातत्व विभाग प्राविधिक शाखा प्रमुख सम्पत् घिमिरे हनुमानढोका दरबार क्षेत्रका दुईवटा सम्पदा विभागले पुनःनिर्माण गरिरहेको बताउँछन् । विभागले पुनःनिर्माण गरिरहेका सम्पदामा दशावतार र छ्यासिङ देगु छन् । गद्दी बैठक र नौतले दरबारबीचको भवन पनि विभागले पुनःनिर्माण गर्ने उनले बताए ।

महानगरपालिकाले काष्ठमण्डप, नगरा र मजुदेग पुनःनिर्माण गर्ने सहमति भएको छ । महानगरपालिकाले अहिलेसम्म काम शुरु गर्नसकेको छैन । काठमाडौँ उपत्यका सम्पदा संरक्षण ट्रष्टले कागेश्वरीको पुनःनिर्माण सम्पन्न गरेको छ । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले गोपीनाथ र जगन्नाथ मन्दिरको जीर्णोद्धार गर्नेछ ।

नौतले दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको छ । यसको काम ६० प्रतिशत सम्पन्न भएको विभागले जनाएको छ । अमेरिकी सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको गद्दी बैठकको पुनःनिर्माण ८० प्रतिशत सम्पन्न भएको छ ।

केही सम्पदा पुनःनिर्माण भए पनि काम सुस्त रहेको स्थानीयवासीको गुनासो छ । धेरै सम्पदा भने अझै पुनःनिर्माण शुरु हुनसकेको छैन । काष्ठमण्डपलगायत महत्वपूर्ण सम्पदा भने अझै पुनःनिर्माण शुरु हुनसकेको छैन ।