खेलकुद

आईरा सेमिफाइनलमा, समापन खेल आज

काठमाडौं । आईरा रावत छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
खराब प्रकाशका कारण सोमबारबीचैमा रोकिएको अन्तिम क्वाटरफाइनलमा आइराले एनी माथेमालाई ७–५ र ६–४ ले पराजित गरिन् । खेल स्थगित हुँदा आईरा ७–५ र २–४ को स्थितिमा थिइन् । सेमिफाइनलमा आइराको भेट अभिलाषा विष्टसंग हुनेछ । अर्को सेमिफाइनल प्रेरणा कोइराला र गंगा शर्माबीच हुनेछ ।

मिक्स डबल्समा श्रीराम मगर र आईराको जोडीले छेवाङ लामा र गंगाको जोडीलाई ६–१ र ६–२ तथा प्रणव खनाल र माहिका राणाको जोडीले अभिलाषा विष्ट र अनिल शाहीको जोडीलाई ६–१, ३–६ र १०–२ को सेटमा हराउदै फाइनलमा स्थान पक्का गरे ।

पुरुष डबल्समा जितेन्द्र परियार र सन्तोष खत्रीको जोडीले ईश्वर जिसी र दीप राणाको जोडीलाई ६–१ र ६–०, निरेश श्रेष्ठ र अनिल कुइकेलको जोडीले कुलबहादुर राई र प्रकाश चन्दको जोडीलाई ६–२, ६–७ र १०–४, प्राञ्जल कायश्थ र नवीन मगरको जोडीले श्याम जिसी र अन्जन थिङको जोडीलाई ६–३ र ६–४, अनिल शाही र प्रदीप खड्काको जोडीले श्यामसुन्दर जिसी र राम रोकाको जोडीलाई ६–२ र ६–२ को सेटमा पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी, राजु श्रेष्ठ, महेश श्रेष्ठ र रोहित सुनवार सेमिफाइनलमा पुगे । ४५ वर्षमाथि पुरुष सिंगल्समा विनोद गुरुङ, कमल थापा, कृष्णराज घले, राजु राई, उत्तमकुमार शेर्पा, विकास गुरुङ, मनोज शाह र विनोद गुरुङले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा कर्मा टासी लामा, विष्णुप्रसाद गैरे, ध्रुव गुरुङ र कमल थापा सेमिफाइनलमा प्रवेश गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा, विनोद कायश्थ र धर्म लामिछाने, उमेश शाही र सुकमान तामाङ, प्रताप मोक्तान र थोङबम तुलेश्वर सिंह, सुदर्शन विष्ट र राजु क्षेत्री, विमल गुरुङ र आशिष सिग्देल, सन्जिव श्रेष्ठ र डेगेन्द्र श्रेष्ठ तथा धर्म शाही र सञ्जय अमात्यको जोडी क्वाटरफाइनलमा पुगे ।

वडा १ र ५ को जित
वडा नम्बर १ र ५ ले वडा स्तरीय मेयर कप यु–२० फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् ।
कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा वडा १ ले २ लाई १–० गोलले पराजित ग¥यो । अनिश खड्काले निर्णायक गोल गरे ।
अर्को खेलमा वडा ५ ले ४ लाई २–१ गोलले हरायो । विजेताका ईश्वर तामाङले दुवै गोल गरे । वडा ४ का आशिष पौडेलले सान्त्वना गोल फर्काए । समापन खेलहरु बुधबार त्रिभुवन क्रिकेट मैदान, कीर्तिपुरमा हुदैँछन्।