समाचार

नगरसभाबाट १८ वटा योजना माग

पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको दोस्रो नगरसभाले १८ वटा योजना संघ र प्रदेश सरकारमा माग गर्ने निर्णय गरेको छ ।
हिउँदे अधिवेशनका रुपमा मंगलबार साँझ ५ बजे सम्पन्न नगरसभाले पथरीशनिश्चरे नगरबाट अर्को नगरपालिकासँग जोडिने प्रकारका भौतिक विकासका योजना प्रदेश र संघीय सरकारमा पठाउने भएको हो । त्यसका लागि कुन योजना प्रदेशमा र कुन संघमा भन्ने कुरा कार्यपालिका बैठकले तय गर्ने उल्लेख छ ।

सडक र पुलका ११, तटबन्धका तीनवटा, पर्यटन प्रवद्र्धनका दुईवटा र कृषिका दुईवटा योजना संघ र प्रदेश सरकारमा माग गर्ने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी गराए । उनले वडा नम्बर १ को जाँतेमोडबाट लेटाङको जाँते, पूर्वको प्रचुर पर्यटनको सम्भावना बोकेको मिक्लाजुङको आहाले हुँदै धनकुटाको ६ नम्बर बुधबारे जोड्ने सडक स्तरोन्नति गरी कालोपत्रेका लागि माग गरिएको जनाए ।

त्यस्तै, रंगेलीसम्म जोडिने मनमोहन गान्धीमार्ग, वडा नं १ को लोकतान्त्रिक चोकबाट शुरु भएको सुनवर्षीसँग जोडिने बुद्ध मार्ग, बक्राहामा पुलसहितको हुलाकी मार्ग, वडा नं १० को शिवालय मन्दिर दक्षिण मिलन चोक शुक्रबारे हुँदै सुनवर्षी जोड्ने सडक कालोपत्रेको माग गरिएको छ ।

साथै वडा नं ७ को कल्याणचोकबाट कीर्तिपुर बुद्धमावि मंगलबारेहुँदै कानेपोखरी जोड्ने सडक, वडा १ बाट शुरु भई सुन्दरीचोक हुँदै सुगाबाट सुनवर्षी जोड्ने रजतजयन्ती मार्गको समेत कालोपत्रेको माग भएको छ । पथरी डाइनिया सडक मर्मत संहारको पनि माग छ ।

जिरिखिम्तीबाट कानेपोखरी जोड्न मोरङ्गी खोलामा तथा वडा नम्बर २ र ३ बाट उर्लाबारीको मदन भण्डारी स्मृति प्रतिष्ठान जोडिने बाटोमा पुल, जिरीखिम्ती दक्षिणबाट पूर्व त्रिवेणीचोकमा जोड्ने पुल निर्माणको योजनासमेत माथिल्लो निकायमा मागिने भएको छ ।

बक्राहा, डाँस र मोरङ्गी खोलाको दीर्घकालीन तटबन्धका साथै १० को भूटानी शरणार्थी शिविर क्षेत्रमा १ नम्बर प्रदेशको आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान र १ को भुल्के जालपादेवी मन्दिर र त्यसको आसपासका बहुजातीय मन्दिरलाई एकीकृत रुपमा धार्मिक पर्यटन प्रवद्र्धनको योजना अघि सारिएको छ ।

शीतभण्डार, खानेपानी तथा सिँचाइका कार्यक्रमसमेत माथिल्लो निकायमा मागिने उल्लेख छ । अव्यवस्थित बसोवासी, सुकुम्वासी र दोहोरो स्वामित्वको सवालमा सरकारले समस्या समाधानमा कानूनी बाधा अड्चन फुकाएर नगरबाटै त्यसको काम अघि बढाउने अधिकार समेत माग गरिने छ ।

यस आर्थिक वर्षमा नगरमा भएका ५६१ योजनामध्ये हालसम्म १९५ वटा फछ्र्योट भएका छन् । न्यायिक समितिमा परेको २३८ निवेदनमध्ये १३७ वटाको मेलमिलाप गरिसकेको जानकारी पनि सम्मेलनमा प्रस्तुत भएको छ ।

यसका साथै वडा नम्बर १० को पशुपति बस्ती, ऐयाबारीको त्रिवेणी, मलामीघाट, दहिधाप र झोलुङ्गेपुल क्षेत्रबाट डाँसखोलाको गिट्टी, ढुंगा, बालुवा निकाल्न वातावरणीय प्रभाव मूल्यांकन गर्ने पनि निर्णय पारित भएको प्रवक्ता गुरागाईंले जानकारी दिए ।

नगरका विकास निर्माणका योजनासहितका समग्र विषयमा पत्रकारले सुझाव समेत राखेका छन् । प्रवक्ता गुरागाईंका साथै वडाध्यक्ष बाबुराम एङ्देन, गोविन्दबहादुर भण्डारी र कपिलमणि ढकाल, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा र स्वास्थ्य संयोजक मुरारी आचार्यले सम्बन्धित विषयमा प्रष्ट्याए ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न नगरसभाले नगरपालिकाको प्रशासनिक कामलाई व्यवस्थित गर्न ऐन निर्माणका लागि प्रशासकीय कार्यविधि विधेयक पारित गरेको छ ।

नगरसभामा नगर प्रमुख राई, उपप्रमुख यमुना विष्ट बाँस्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेका साथै वडाध्यक्ष, विभिन्न विषयगत शाखा र विषयगत कर्मचारीले नगरपालिकामा भएका योजना तथा गतिविधिबारेमा जानकारी गराएका थिए ।