पर्यटन/संस्कृति

गाईखर्क ताल संरक्षण शुरु

बाबियाचौर, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– ५, मगरदाङमा रहेको गाईखर्क ताल संरक्षणको काम शुरु भएको छ ।

प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षणको काम शुरु गरेका छन् ।

मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल र गहिराइ बढाउन बाँध बनाउने काम शुरु गरिएको स्थानीय अगुवा भकबहादुर घर्तीले बताए । उक्त योजनाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको छ ।

हाल ४६÷४६ मिटर लम्बाइ, चौडाइ तथा तीन मिटर गहिराइ भएको तालको लम्बाई चौडाई बढाएर ५५÷५५ मिटरको बनाउन लागिएको हो । क्षेत्रफलसँगै बाँध बनाएपछि गहिराइ पनि बढ्ने जनाइएको छ ।

गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जालगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ परेको मनमोहक दृष्य अवलोकन गर्न सकिने तालको संरक्षण र प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना रहेको वडाध्यक्ष पिपला बुढाथोकीले बताए ।

मगरदाङदेखि ३० मिनेट उकालो पैदल हिँडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । ताल देवीस्थानका पानीका मुहानको स्रोतका रुपमा रहेको बताइन्छ । ताल भरिएपछि ओभरफ्लो हुने पानीलाई खोल्सामा व्यवस्थित गर्ने संरचनासमेत निर्माण गरिने भएको छ ।

निस्कोटको बराह ताल, देवीस्थानको गाईखर्क ताल, दुखुको भालेबास्ने ताल, बिमको बाइन्दफाँट ताल, डडुलेक, मालिकालगायत पर्यटकीय सम्भावना बोकेका स्थलको संरक्षणसँगै पूर्वाधार विकासको काम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।