खेलकुद

‘दुनै प्रिमियरलिग’को उपाधि दुनै कोब्रालाई

दुनै, डोल्पा । दुनै प्रिमियर लिग क्रिकेटको उपाधि दुनै कोब्राले हात पारेको छ ।

दुनै प्रिमियर लिग क्रिकेटको पाँचौँ संस्करणमा जिल्ला प्रहरीलाई २७ रनले हराउँदै कोब्रा लिगको विजेता बनेको हो । विजेता दुनै कोब्राले नगद रु ३० हजार, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेताले रु १० हजारमा चित्त बुझाएको छ ।

करीब १० दिनसम्म चलेको लिगमा चारवटा टिमले सहभागिता जनाएका थिए । फाइनलमा पुगेको नेपाल प्रहरी र दुनै कोब्राको खेलमा टस हारेर कोब्राले पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५५ रन बनाउँदै पहिलो इन्निङ सकिएको हो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल प्रहरीले सात विकेटको क्षतिमा १२८ रन बनाउन सफल भयो । लिगको विजेताको दाबेदार मानिएको नेपाल प्रहरी फाइनलमा भनाई अनुसार खेल प्रदर्शन नगर्दा खेलको उपविजेतामा चित्त बुझाउनु परेको हो ।

फाइनल खेलमा दुनै कोब्राका कप्तान अपार गुरुङले ५४ रनको अर्धशतक खेलेका थिए । त्यसैगरी, प्रिमियर लिगको खेल अवधिभर सर्वाधिक छक्का, सर्वाधिक रन र सर्वाधिक विकेटर पनि कप्तान गुरुङनै भएको आयोजकले जानकारी दिएका छन् । उनले २७२ रन, १५ विकेट र २३ छक्का प्रहार गर्दै उत्कृष्ट खेलाडीमा परेका हुन् ।

डोल्पाका खेलाडीको मनोबल वृद्धि गर्दै राम्रा खेलाडी उत्पादनका लागि हरेक वर्ष दुनै प्रिमियर लिगको आयोजना गर्न लागिएको आयोजकका प्रमुख क्षितिज गुरुङले बताए । उनले भने यसै वर्ष दुनै प्रिमियर लिग (डिपिएल)को छैटौँ संस्करण यसै वर्षको भदौ महिनामा हुन्छ, यसले खेलाडीमा उत्साह जागेको छ ।

गुरुङ होटेल, ओमपार रेष्टुराँ, दुनै भ्याली क्लब र अन्य विभिन्न निकायको सहयोगमा दुनै प्रिमियर लिगको पाँचौँ संस्करणको आयोजना गरिएको थियो । जिल्ला खेलकुद विकास समितिले भने चासो नदिएको खेलाडीको आरोप छ ।