स्वास्थ्य

बहुमूल्य जडिबुटी यार्सागुम्बा तस्कर पक्राउ

त्रिपुराकोट, डोल्पा । बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा डोल्पामा यार्सागुम्बा तस्कर पक्राउ पर्न थालेका छन् ।

डोल्पाको जगदुल्ला गाँउपालिकास्थित जगदुल्ला यार्सापाटनबाट अवैधरुपमा यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना तस्कर पक्राउ परेका हुन् । तीमध्ये ११ जना महिला छन् ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायको संयुक्त गस्ती टोलीले सोमबार राति ११ बजेतिर उनीहरूलाई पक्राउ गरेका हुन् । पक्राउ परेका सबैलाई निकुञ्ज कार्यालय सुलिगाडमा ल्याइरहेको निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए।

यार्सागुम्बा पाटन खुल्नुअगावै यार्सागुम्बाको अवैध चोरी निकासी रोक्न विभिन्न नाका र यार्सापाटनको सुरक्षा व्यवस्था कडाई पारिएको निकुञ्जले जनाएको छ ।

प्रत्येक वर्ष जेठदेखि असारसम्मको एक महिना अवधिमा चल्ने यार्सागुम्बा सिजनलाई व्यवस्थित बनाउन निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीको संयुक्त गस्ती टोली पनि परिचालन गरिएको निकुञ्जले जनाएको छ ।

अघिल्ला वर्षहरूमा जेठ १० गते मात्रै संकलनका लागि खुला गरिने यार्सापाटन यस वर्ष भने जेठ १ गते खुला गरिने बताइएको छ ।

डोल्पाका कागमारा, जगदुल्ला, माझवन, कुनासा, डोप्के, भान्का, ठांगे, टाङ्टुङ्गे, लुमला, छोयला, सागर, वासुदा, फूलवारी, नावरपानी, चाहारा, साइकुमारी, माटे, लगायतका दर्जनौ पाटनहरूमा यार्सागुम्बा पाइने गर्दछ ।

पाटन खोल्नुअघि पाटनबाट यार्सागुम्बा चोरेर संकलन नहोस् भनेर विभिन्न पाटनका सम्बन्धित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, चोरिशिकार नियन्त्रण समिति, स्थानीय तहका पदाधिकारी, स्थानीय समुदाय, निुकञ्ज र नेपाली सेनाले पाटनपाटनमा संयुक्त गस्ती गर्ने गरिएको निकुञ्ज संरक्षण अधिकृत चौधरीले बताए ।

यसअघि यही वैशाख १० गते अवैधरुपमा यार्चागुम्बा टिप्न कागमारा पाटन पुगेका सातजनालाई पक्राउ गरिएको पनि निकुञ्जले जनाएको छ ।