खेलकुद

१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता

काठमाडौँ । प्रथम मनमोहन मेमोरियल १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रदेश नं ७ र प्रदेश नं २ प्रवेश गरका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा प्रदेश ७ ले प्रदेश १ लाई ५ विकेटले पराजित गर्दै फाइन यात्रा तय गरेको हो भने प्रदेश २ ले प्रदेश ३ लाई ४१ रनले पाखा लगाउँदै फाइनल यात्रा तय गरेको हो ।

प्रदेश १ ले दिएको १४९ रनको लक्ष्य प्रदेश ७ ले २२ ओभरमा ५ विकेट गुमाएर भेटायो । प्रदेश ७ का सुवास ऐरले ३७, राजन सिंहले ३२ राहुल भण्डारीले नटआउट २५ तथा रोशन साउदले २३ रनको योगदान दिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ३० ओभरमा ८ विकेट गुमाएर १४८ रन जोडेको थियो । उसका विवेक महताले सर्वाधिक ४१ रन बनाए । प्रदेश १ लाई सस्तैमा समेटने क्रममा प्रदेश ७ का नरेन्द्र साउद एक्लैले ४ विकेट लिए ।

यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले २१६ रनको योगफल बनायो । अमित यादवले सर्वाधिक ८६ रनको योगदान दिए भने विवेक यादवले ६३ तथा सुजित शाहले ३५ रन जोडे । प्रदेश ३ का कप्तान प्रतिस जिसी र सुशान्त कार्कीले समान २ विकेट लिए ।

२१७ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले २८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १७५ रनमा समेटियो । उसको लागि कप्तान प्रतिश जिसीले ४८, दीपक बोहराले ३० तथा सम्भव श्रेष्ठले ३४ रन बनाए । बलिङतर्फ प्रदेश २ का लागि विक्रम कुशवाहले ४ विकेट लिए भने सन्नी शाले २ विकेट लिए । बुधबार उपाधिका लागि दुवै टोली भिड्नेछन् ।