समाचार

सुन तस्करी काण्डमा माथील्लो स्तरका अधिकृतहरुको संलग्नताले निम्त्यायो यस्ता गम्भिर प्रश्नहरु !

एच आर जोशी/काठमाडौँ । उच्च छवि भएका नेपाल प्रहरीका अधिकारी नै सुनकाण्डमा मुछिएपछि प्रहरीको छवि र विश्वशनीयतामाथि गम्भीर प्रश्नवाचक चिह्न खडा भएको छ । प्रहरीको सुरक्षा र अपराध नियन्त्रण गर्ने मुख्य कर्तव्य बोकेको प्रहरी संगठनभित्रै जवान देखि प्रहरी नायब अतिरिक्त महानिरीक्षक९डिआईजी० सम्मका अधिकारी सुनकाण्डमा मुछिएको तथ्य प्रकाशमा आएपछि प्रहरी संगठनमाथि जनविश्वास ह्वात्तै घटेको मात्रै छैन् प्रहरीको छवि समेत धमिलो भएको छ । सनम शाक्यको हत्या प्रकरणबाट सुरु भएको साढे ३३ केजी सुनकाण्डमा तत्कालिन प्रहरी प्रमुख पनि शंकाको घेरामा आएका हुन् ।

पछिल्लो समय पक्राउ पर्नेहरुमा प्रहरी अधिकारी बाहेक १८ जना पक्राउ परेका छन् भने सुनकाण्डका मुख्य तस्कर भनिएका चुडामणि उप्रेती गोरे फरार छन् । पक्राउ पर्नेहरुमा महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे लगायत छन् ।

पक्राउ पर्ने प्रहरी अधिकारीहरुमा पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु खड्का छन् भने आइतबार मात्रै अपराध महाशाखाका अनुसन्धान टोलीका नेतृत्वकर्ता प्रहरी नायब उपरीक्षक प्रजित केसी, इटहरी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्जय राउत पनि पक्राउ परिसकेका छन् । सुनकाण्डको अनुसन्धान भने जारी छ । नेपाल प्रहरीजस्तो गरिमामय संगठनभित्रै छर्लङ्ग देखिएको यो कुरुप तस्बीरले देशको सुरक्षालाई समेत गम्भीर चुनौती दिएको छ ।

नेपाली जनताको सुरक्षामा खटिएका माथिल्लो स्तरका प्रहरी अधिकृतहरु नै सुनकाण्डमा संलग्न भेटिएपछि जनताले कसलाई बिश्वास गर्ने प्रश्न चिह्न खडा हुन्छ । त्यति मात्र हैन विमानस्थल सुनकाण्डमा संलग्न रहेका अधिकारीहरुको छानविन तथा अनुसन्धान गर्न खटिएका प्रहरी अधिकृत समेत पुन अनुसन्धानको घेरामा आउनु नेपाली जनताले विश्वास गर्ने बिषय मात्रै नभएर विश्वले नै पत्याएको भनेर चिनिएको प्रहरी बललाई पुन शंकाको घेरामा राखेर हेर्न सक्छ ।

विगतमा अन्तराष्ट्रिय क्षेत्रबाट संगठनले पाएको सम्मानलाई समेत नेतृत्वले कसरी मूल्याङ्कन गर्छ त्यो हेर्न बाकी छ । प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनाल, प्रहरी नेतृत्वको कमान्ड सम्हालेका  गृहमन्त्री रामबहादुर थापा बादल मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले यसप्रकारका माथिल्लो तहबाट भएका अपराधलाई निराकरण गर्न भूमिका खेल्छन् त्यो पनि हेर्न बाकी छ । यानीकी प्रधानमन्त्री र उनका मन्त्रीहरुको कुरा सुन्दा अपराध नियन्त्रणमात्र त के देशको काँचुली नै फेरिन्छ ।