समाचार

विद्यार्थी यार्सा पाटनतिर

त्रिपुराकोट, डोल्पा । बहुमूल्य जडीबुटी यार्सागुम्बा याम शुरु भएसँगै हिमाली जिल्ला डोल्पाका अधिकांश विद्यालयमा विद्यार्थी संख्या घटेको छ ।

यस वर्ष जेठ १ गतेभित्रै यार्सागुम्बा पाटनहरु खुला गरिने भएपछि विद्यालय जान छाडेर विद्यार्थी यार्सागुम्बा संकलनको पूर्व तयारीमा जुट्न थालेका कारण डोल्पाका विद्यालयमा विद्यार्थी उपस्थिति न्यून बनेको हो ।

नियमित कक्षा छाडेर विद्यार्थी यार्सागुम्बा संकलनका लागि धमाधम उच्च हिमाली पाटनहरु जान थालेको बताइन्छ ।

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा पर्ने मालिका माध्यमिक विद्यालय नर्कुका प्रधानाध्यापक दीपक गुरुङका अनुसार धेरैजसो विद्यार्थी यार्सागुम्बा संकलनका लागि पाटनतिर लागिसकेका छन् । एक हप्ता अगाडिसम्म खचाखच हुने कक्षाहरु अहिले विद्यार्थी नहुँदा पातलिँदै गएका छन् ।

त्यस्तै, मध्यडोल्पाका धेरैजसो आधारभूत र माध्यमिक विद्यालयमा पनि विद्यार्थीको उपस्थितिमा कमी आएको छ ।

त्रिपुराकोट माध्यमिक विद्यालय मद्धुका आधारभूत र माध्यमिक तहका कक्षाहरुमा पनि १० प्रतिशत जति विद्यार्थी घटेको विद्यालयले जनाएको छ ।

विद्यार्थी संख्या घट्दै गए पनि पठनपाठन सञ्चालन भइरहेको शिक्षक शोभाकान्त पौडेलले जानकारी दिए ।

विद्यार्थी नियमित आए शिक्षकहरु पढाउनका लागि तयार रहेको समेत उनले बताए ।

तर सरस्वती मावि दुनै र आदर्शमा मावि जुफालमा भने विद्यार्थीको संख्यामा कमी आएको छैन ।

सरस्वती मावि दुनैमा पनि पहिलो त्रैमासिक परीक्षाको तयारी भइरहेकाले विद्यार्थी संख्या नघटेको प्रधानाध्यापक सत्यनारायण सिंहले जानकारी दिए ।

जेठ १ गतेदेखि यार्सागुम्बा पाटनहरु खुला गर्ने भए पनि जेठ २ गतेदेखि पहिलो त्रैमासिक परीक्षा राखिएकाले पनि अहिले नै विद्यार्थीको उपस्थितिमा कमी नआइसकेको आदर्श मावि जुफालका प्रधानाध्यापक पूर्णबहादुर डाँगीेले जानकारी दिए ।

जेठ पहिलोसातादेखि भने सबै विद्यार्थी यार्सागुम्बा संकलनका लागि पाटनतिर जाने भएकाले डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छ ।

यार्सागुम्बा संकलन गरेरै डोल्पाली विद्यार्थीले वर्षभरिको पढाइ खर्च जुटाउने गर्छन् ।
विगतका वर्षहरुमा जेठको दोस्रो सातादेखि खुला गरिँदै आएका डोल्पाका यार्सागुम्बायुक्त हिमपाटनहरु यो वर्ष भने जेठ १ गतेदेखि नै खुला गरिने भएका छन् ।
बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न यतिखेर डोल्पाली विद्यार्थीमात्र होइन छिमेकी जिल्ला जाजरकोट, जुम्ला, सुर्खेत, दैलेख, बाँके र रामेछाप जिल्लाबाट समेत डोल्पाका पाटनहरुमा जानका लागि आउने क्रम शुरु भएको बताइन्छ ।