पर्यटन/संस्कृति

अन्नपूर्ण आधार क्षेत्रका दृश्य कलामा

काठमाडौँ । पदयात्राको उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार क्षेत्रका दृश्यलाई पोखरेली कलाकारले आफ्नो कलामा उतारेका छन् ।

पोखराका कलाकारत्रय क्षेत्रलाल कायस्थ, आलोक गुरुङ र नगेन सिंहले अन्नपूर्ण क्षेत्रका हिमाली दृश्य, प्रकृति र जनजीवनका विविध पक्षलाई पानी रङ, तैल रङ र एक्रेील्क रङमार्फत चित्रमा जीवन्त रुपमा उतारेका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले गत वर्ष अन्नपूर्ण आधार शिविर र छोम्रोङमा आयोजना गरेको पर्यटन महोत्सवका अवसरमा सहभागी भई उनीहरुले स्थलगत रुपमा नै कला सिर्जना गरेका थिए ।

उनीहरुले सिर्जना गरेका ४५ कलाकृतिको प्रदर्शनी आजदेखि तारागाउँ सङ्ग्रहालय टुसाल, बौद्धमा शुरु भएको छ । ‘अन्नपूर्ण सेन्चुरी हिमालमुनिका कलाकृति प्रदर्शनी’ को अन्नपूर्ण काठमाडौँ समाजका अध्यक्ष मनप्रसाद गुरुङ र र उपाध्यक्ष झलकराम अधिकारीले शुभारम्भ गरे ।

यही वैशाख २४ गतेसम्म जारी रहने सो प्रदर्शनीले नेपालको पर्यटन प्रवद्र्धन विशेष गरी अन्नपूर्ण शिविरको पदयात्रालाई अझ उजागर गर्ने विश्वास गरिएको छ । सो अवसरमा कलाकार कायस्थ र प्रचारप्रसार समितिक संयोजक टंक अधिकारीले अन्नपूर्ण आधारशिविर क्षेत्रको पर्यटन प्रवद्र्धनमा कलाले थप उजागर गर्ने विश्वास व्यक्त गरे ।