साहित्य

पार्वती गुफालाई पर्यटनसँग जोड्न अक्षरयात्रा

पोखरा । प्रकृतिको सुन्दर ठाउँ पोखरामा साहित्यका फूल फुलाउने सोचका साथ झण्डै डेढ दशक यता सञ्चालन हुँदै आएको अक्षरयात्राको १५३औँ शृङ्खला पर्वत जिल्लाको पाङमा पुगेको छ ।

‘जीवन र जगत्को यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ कवि तथा कवयित्रीहरू पर्वतको कुस्मा नगरपालिका वडा नं १ र २ स्थित पार्वती गुफामा पुगी झण्डै चार दर्जन रचना सुनाएको गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले जानकारी दिए ।

विसं “२०६२ देखि गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरले प्रत्येक महिनाको तेस्रो शनिबार अक्षरयात्रा साहित्यिक अभियान चलाउँदै आएको छ”, उनले भने, “कुस्मा नगरपालिका वडा नं १ र २ का जनप्रतिनिधिले नै पार्वती गुफाको पर्यटकीय सम्भावनालाई उजागर गर्न वैशाखको तेस्रो शनिबार साहित्यलाई जोडेर अक्षरयात्रा कार्यक्रम गर्ने चाँजो मिलाएका थिए ।”

“अमृत बसोस्, जहर नपसोस्
फाँटहरु निल्ने रहर नपसोस् ।
हाम्रा यी सुन्दर गाउँहरूमा
विकास पसोस् शहर नपसोस् ।।”

पोखराबाट अक्षरयात्रामा पाङ गाउँ र पार्वती गुफा पुगेपछि कवि वसन्त गौतमले यो मुक्तक सुनाए ।

अक्षरयात्रामा सहभागी जो कोहीले त्यहीको परिवेशलाई समेटेर अनिवार्य एउटा रचना गर्नु नियम बनाइएको थियो ।

पाङ गाउँको स्वादसँगै माता पार्वतीको जन्मभूमि मानिने सो गुफा पुगेका उनले गाउँ र शहरको तुलनामा शहरको विकृतिलाई व्यङ्ग्य गर्दै यो मुक्तक सिर्जना गरेका हुन् ।

गाउँको विकासमा कस्सिएका जनप्रतिनिधि पोखरेली साहित्यकारबाट आफ्नै गाउँका कुरा जोडेर सुनाइएका यस्ता सिर्जना सुनेर दङ्ग देखिन्थे ।

साहित्यिक पर्यटनको अवधारणालाई आत्मसात् गर्दै देशका विभिन्न ठाउँमा पुगेको उक्त अभियानको यस शृङ्खलाले साहित्यमार्फत पार्वती गुफाको प्रवद्र्धन गरेको वडा नं २ का अध्यक्ष यदुनाथ शर्मा बास्तोलाले बताए ।

“धार्मिक पर्यटनको अथाह सम्भावना बोकेको गुफा प्रचारका अभावले छायाँमा परेको छ”, उनले भने, “यहाँको पर्यटन प्रवद्र्धनका लागि अक्षरयात्रीहरूलाई हाम्रो गाउँमा बोलाएका हौँ ।”

माता पार्वतीको जन्मभूमि र महादेव स्वामी पाउँ भनेर पार्वतीले तपस्या गरेको गुफाका रुपमा परिचित पार्वती गुफा पुगेर अक्षरयात्रीले त्यहाँका सम्भावनालाई समेत रचनामा उतारेका थिए ।

पाङ गाउँको मौलिकपना र त्यहाँको अवस्थालाई कवि तथा कवयित्रीले आफ्ना सिर्जनामा प्रस्तुत गरेको बताउने पर्वतकै स्रष्टा शंकर गिरीले आफ्नै गाउँलाई जोडेर रचना गरिएका साहित्यले प्रत्येक स्थानीयवासी निकै हर्षित बनेको धारणा व्यक्त गरे ।

कवि दीपक समीप, प्रकट पंगेनी शिव, गनेस पौडेल, ईश्वरमणि अधिकारीले पाङको सम्भावना, पार्वती गुफाको आकर्षण र पाङबाट देखिने देशलाई कवितामार्फत प्रस्तुत गरे ।

त्यस्तै कवि कल्याण पन्त, कपिल शर्मा, उदीपराज ढुंगाना, सौगात पोखरेल, मिर्मिसा पराजुली, भरत आचार्य, भरत पोखरेल, केआर ढकाल, अनिता दाहाल, माया कुँवर, मनिस गौतम, मोहन भण्डारीले पाङ गाउँ, पार्वती गुफा र त्यहाँका परिवेशलाई समेटेर आ आफ्ना रचना वाचन गरेका थिए ।

“अक्षरयात्रा अभियानले साहित्यका माध्यमबाट स्थानीय सम्भावना, समस्या र प्रचारप्रसारसँगै सिर्जनाको वृत्ति विकास गर्दै आएको छ”, गजल सन्ध्याका अध्यक्ष सुवेदी थपे ।

नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा १२ वर्षदेखि शुरु अक्षरयात्रा जीवन र जगत् बुझेर त्यसलाई सिर्जनामा उतार्ने महत्वपूर्ण पोखरेली साहित्यिक अभियान नै बनेको बताए ।

कुस्मा नगरपालिका वडा नं १ का अध्यक्ष देवेन्द्र सुवेदीले पार्वतीको जन्म भएको र तपस्या गरेको गुफा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने सम्भावना भएको बताउँदै यो क्षेत्र पर्यटकको पर्खाइमा रहेको धारणा व्यक्त गरे ।

पार्वती गुफा व्यवस्थापन तथा पर्यटन विकास समितिका अध्यक्ष छविलाल पौडेलका अनुसार हालसालै गुफामा शिवजीको मूर्ति फेला परेको छ ।

“यो गुफा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न धेरै आधार छन्, यसको विकासका लागि प्रचारप्रसारका साथै अन्य आवश्यक पूर्वाधार विकासमा राज्यको प्राथमिकता हुनु अपरिहार्य छ”, पौडेलले भने ।