समाचार

भारतीय प्रधानमन्त्री सीधै जनकपुर आउने

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा उनी भारतको पटनाबाट सीधै जनकपुर आउने भएका छन् ।

सो दिन मोदी सवार विमान धनुषाको जनकपुरस्थित बाह्र बिघामा अवतरण हुने, त्यहाँ नेपाल सरकारका एक वरिष्ठ मन्त्रीले स्वागत गर्ने र त्यसपछि धार्मिकस्थल जानकी मन्दिरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा रामायण परिपथको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।
परिपथको उद्घाटनपछि प्रधानमन्त्री ओली काठमाडौँ फर्कने र भारतीय प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा रहनेछन् । मोदीको भ्रमणको विस्तृत कार्यतालिका परराष्ट्र मन्त्रालयबाट सार्वजनिक हुन बाँकी छ ।