समाचार

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउँदै छन् ।

नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्य

क्रम रहेको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले प्रधानसेनापति क्षत्रीसँग जङ्गीअड्डामा भेटवार्ता र पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रमसमेत छ ।

भ्रमणका दौरानमा उनले पोखरा, लुम्बिनीलगायत अन्य केही पर्यटकीय स्थानको भ्रमण गरी यही वैशाख २२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्र राष्ट्र थाइल्याण्डको राष्ट्रिय सेनाबीच रहँदै आएकोसौहार्दपूर्ण सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाको विश्वास छ ।