समाचार

विद्युतीय मोटर प्रयोग गरी खानेपानी

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट प्रविधिको सफल परीक्षण गरिएको छ ।

जलजलेको चापाबोटे पँधेरे मुहानबाट दुईवटा विद्युतीय मोटरको प्रयोग गरी तलको पानी माथिल्लो भूभागमा तानेर वितरण गर्न थालिएको हो । मोटरको प्रयोगबाट सोमबार पानी तानिएको र अब ट्यांकीमा संकलन गरी आवश्यक खानेपानी वितरण शुरु गर्ने उपभोक्ता समितिले जनाएको छ ।

ग्रामीण खानेपानी तथा कोष विकास समिति फनबोर्डको सहयोगमा देउराली सोसाइटीको सहजीकरणमा खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत चापाबोटे पँधेरे लिफ्टिङ खानेपानी तथा सरसफाइ समितिले निर्माण गरिरहेको छ ।

योजना निर्माणको काम अन्तिम चरणमा पुगेकाले अब पानी वितरणको तयारी भइरहेको देउराली सोसाइटीका सामाजिक परिचालक सन्जु तुम्बाहाम्फेले बताए । तत्कालीन जलजले गाविसको रु पाँच लाख, फनबोर्डको ५० लाख र स्थानीयवासीको नगद तथा श्रमदान रु १७ लाख गरी कूल रु ७३ लाखको लगानीमा निर्माण भएको योजनाबाट पानी जडान भएपछि जलजलेका १०२ घरधुरीका ६५४ जनाले स्वच्छ पिउने पानीको सेवा प्राप्त गर्नेछन् ।

लिफ्ट गरिएको पानी तानेर जम्मा गर्नका लागि गाउँको सिरानमा १६ घन मिटरको ट्यांकी निर्माण गरिएको छ भने मुहान नजिकै आठ÷आठ घनमिटरका ट्यांकी निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।