समाचार

ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर

रोल्पा । श्रीमान्ले रेखदेख नगरेपछि नौवर्ष अघि दुई शिशु च्यापेर सदरमुकाम लिवाङ आएकी रोल्पा गुम्चालकी ५० वर्षीया रुपसरी विष्ट ज्याला मजदूरी गरेर दैनिकी चलाइरहेकी छिन् ।

बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म काम गरेबापत उनले दैनिक रु ४५० ज्याला पाउँछिन् । जोखिमपूर्ण शारीरिक श्रम गरेपनि उनलाई दैनिक ज्यालाबाहेक अन्य सुविधा केही छैन । ज्यालाको रकम दुई छोराछोरी पढाउने, डेरा भाडा तिर्ने तथा साँझ बिहानको जोहो गर्नमा खर्च गर्छिन् ।

श्रीमान्ले अर्को विवाह गरेर हिँडेपछि दुईवर्ष अघि सदरमुकाम लिवाङ आई ज्याला मजदूरी गरिरहेकी रोल्पा माडीचौरकी जुनकुमारी बुढाको दैनिक ज्याला रु ५०० छ । छोराछोरी पढाउने, डेरा भाडा तिर्ने तथा साँझ बिहानको छाक टार्ने माध्यम बनेको छ उनको दैनिक ज्याला ।

१५ वर्षअघि रोल्पा मिरुलबाट सदरमुकाम आएकी जुनसरा बुढाले निरन्तर ज्याला मजदूरी गरिरहेकी छिन् । शुरुवातमा रु १२० ज्याला लिने उनले अचेल दैनिक रु ५०० बुझ्ने गर्छिन् । तीन छोराछोरीकी आमा जुनसराले कमाएको पैसा छोराछोरीको पढाइ तथा साँझ बिहानको छाक टार्नमै सकिन्छ । श्रीमान् वैदेशिक रोजगारीमा रहेपनि राम्रो कमाइ नहुँदा उनकै ज्याला मजदूरीको भरमा चलेको छ उनको परिवार । १५ वर्ष अघि सदरमुकाम लिवाङ आएकी उनी अहिलेसम्म निरन्तर ज्याला मजदूरी गरिरहेकी छिन् ।

रोल्पामा यसरी जोखिमपूर्ण शारीरिक श्रम गर्ने महिलाको संख्या अधिक छ । ढुंगा, इँटा ओसारपसार गर्ने, गिट्टी बालुवा बोक्नेजस्ता कठिन शारीरिक श्रम गरे पनि उनीहरुको ज्याला भने नाम मात्रको छ । पुरुषसरह काम गरे पनि ज्यालामा भने विभेद गरिन्छ रोल्पा गुम्चालकी रुपसरी विष्टले भने ।

काम गर्दाको दिन ज्याला पाउनेबाहेक अन्य कुनै सुविधा नभएको मजदूरले गुनासो गरेका छन् । काम गर्दा पटकपटक दुर्घटनासमेत हुने भएकाले दुर्घटना बीमाको मागसमेत गरेका छन् । गतवर्ष कामकै सिलसिलामा ढुंगा पल्टेर टाउकोमा ठूलो घाउ भई लामो समय नेपालगञ्ज अस्पताल पुगेर उपचार गरेको भए पनि उपचारमा आफैँले खर्च गर्नु परेको मजदूर रुपसरी विष्टले बताइन् । आफूहरुले जोखिम मोलेर काम गरे पनि ठेकेदार तथा मालिकले काम र ज्यालामा समेत विभेद गर्ने गरेको महिला श्रमिकले गुनासो गरेका छन् ।

बजार महँगी अधिकतम भएपनि आफूहरुको ज्याला निकै कम हुँदा दैनिकी चलाउन निकै धौधौ परेको मजदूर जुनकुमारी बुढाले बताए । लामो समय बिरामी पर्दा त भोकभोकै बस्नुपर्ने बाध्यता हुन्छ बुढाले भने । कि ऋण गरेर खाने की त भोकै बस्ने दुईमध्ये एक विकल्प रोज्नुपर्छ, बुढाले भने । सीपको काम गर्ने महिला र पुरुष मजदूरमा समेत ज्यालामा विभेद गरिएको बुढाको भनाइ छ ।

संविधानले कुनैपनि नाममा विभेद गर्न नपाइने भने पनि मजदूरमा भने लैंगिक विभेदको कम नहुनु दुःखद् भएको महिला अधिकारकर्मी श्रीकुमारी रोकाको भनाइ छ । पुरुषसरह श्रम गरेपनि महिलाको ज्याला भने कम दिइनु ठूलो विभेद हो रोकाले भने । दशौँ वर्ष काम गरे पनि महिला भएकै कारण दक्षता अभिवृद्धि गर्न कसैको ध्यान पुगेको देखिँदैन रोकाले भने । सरकारी तथा गैरसरकारी निकायले प्रदान गर्ने मजदूरको सीप विकास तालीममा महिला कामदारलाई पनि अवसर दिनुपर्ने उनले बताए ।

ज्याला निर्धारण समितिले दक्ष कामदारको दैनिक रु ८०० र अदक्ष कामदारको रु ४२० निर्धारण गरे पनि आफूहरुले त्योभन्दा बढी ज्याला दिँदै आएको निर्माण व्यवसायी संघ, रोल्पाका अध्यक्ष मानबहादुर खत्रीले जानकारी दिए ।

नियमानुसार हरेक वर्ष दश प्रतिशतभन्दा बढी ज्याला वृद्धि गर्न नपाइने भएकाले बजार मूल्यअनुसार मजदूरको ज्याला नभएको अध्यक्ष खत्रीले भने । सरकारी ठेक्कापट्टामा मात्र बीमा हुने भए पनि प्राइभेट काम गर्दासमेत मजदूरको बीमा गरेर सुरक्षाको ग्यारेन्टी हुनुपर्ने खत्रीको भनाइ छ ।

भवन डिभिजन कार्यालयले हरेक वर्ष सञ्चालन गर्ने दक्ष कामदार तालीममा समेत अहिलेसम्म महिलाले अवसर नपाउँदा जिल्लामा दक्ष महिला कामदारको संख्या न्यून रहेको अध्यक्ष खत्रीले जानकारी दिए । आगामी दिनमा सञ्चालन गरिने दक्ष कामदार तालीममा आफूले महिला कामदारलाई सहभागी गराउन भूमिका खेल्ने खत्रीले बताए ।

दक्ष महिला कामदारलाई रु ७५० र पुरुषलाई रु ८०० ज्याला दिँदै आएको निर्माण व्यवसायी वसन्तराज शर्माले भने । अदक्ष कामदारका रुपमा काम गर्ने महिला पुरुष मजदूरमा भने कुनै विभेद गरिएको छैन व्यवसायी शर्माले भने ।

जिल्लामा अदक्ष कामदारको रुपमा महिलाको संख्या धेरै रहेपनि उनीहरुले पाउँदै आएको ज्याला न्यायोचित नहुँदा उनीहरु मारमा परेका छन् । रोजगारीका अन्य विकल्प नहुँदा ज्याला मजदूरी गर्न बाध्य उनीहरुको पेशागत तथा भौतिक सुरक्षामा ध्यान दिनुपर्ने अधिकारकर्मीको भनाइ छ ।