राजनीति

श्रमिक दिवसमा राप्रपाको शुभकामना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी तीनवटै दलले १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा आज शुभकामना दिएका छन् ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष डा लोहनीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर १२९ वर्ष अगाडि मे १ का दिन शुरु भएको श्रमिक संघर्ष तथा आन्दोलनले अहिले श्रमिक वर्गलाई सामाजिक न्याय र सामाजिक सुरक्षा उपलब्ध गराउन सहयोग मिलेको उल्लेख गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेका विज्ञप्तिमा विगतमा श्रमिकको त्याग र बलिदानपूर्ण संघर्षबाट आजको स्वर्णिम दिन प्राप्त भएको बताउँदै श्रमलाई मर्यादित बनाएर आन्तरिक रोजगारीका अवसरलाई सिर्जना गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले पनि विज्ञप्तिमार्फत मुलुकमा उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी सरकारले रोजगार सिर्जना गरी श्रमिकको सामाजिक सुरक्षाजस्ता कार्यलाई प्राथमिकता दिन आग्रह गरिएको छ ।